एडीबीका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपालमा, प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्दै
काठमाडौं। एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्।
आइतबार राति १० बजे काठमाडौं ओर्लिएका अध्यक्ष कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए।
सोमबार र मंगलबार नेपालमा रहने अध्यक्ष कान्डाले आफ्नो यस छोटो तर महत्त्वपूर्ण भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
शाह प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलोपटक कुनै उच्च विदेशी पाहुनासँग औपचारिक भेटघाटमा जुट्न लागेका हुन् र यो भेट मंगलबारका लागि तय गरिएको छ। नेपाल र एडीबीबीचको साझेदारीलाई थप बलियो बनाउन यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाल बसाईका क्रममा अध्यक्ष कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायत अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूसँग पनि द्विपक्षीय हित र आर्थिक सहयोगका विषयमा सघन छलफल गर्नेछन्।
तालिका अनुसार अर्थमन्त्री वाग्ले र अध्यक्ष कान्डाबीच सोमबार दिउँसो ३ बजे औपचारिक भेटवार्ता हुँदैछ। यसका साथै अध्यक्ष कान्डाले नेपालमा एडीबीको वित्तीय तथा प्राविधिक सहयोगमा सञ्चालित विभिन्न विकास परियोजनाहरूको स्थलगत निरीक्षण एवं भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ।






डिसी नेपाल





Facebook Comment