वन्यजन्तु आतंकले किसान गाउँ छाड्न बाध्य: नियन्त्रणका लागि सरकारसँग सांसद शर्माको माग
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भएको भन्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले वन्यजन्तुका कारण देशैभरिका किसानहरू मारमा परेकोतर्फ सदनको ध्यानाकर्षण गराइन्।
किसानले वर्षभरि गुजारा गर्नका लागि मिहिनेत गरेर लगाएको अन्नबाली खेतबारीमै नष्ट हुने गरेको मात्र नभई घरभित्र भण्डारण गरेर राखिएको अवस्थामा समेत बाँदरले भित्रै पसेर खाइदिने र दुःख दिने गरेको उनले उल्लेख गरिन्।
बाँदर र बँदेलको यो विकराल समस्याले गर्दा श्रम गरेर खाने वर्ग आफ्नो थातथलो नै छाडेर पलायन हुनुपर्ने विवशता सिर्जना भएको उनको भनाइ थियो।
बालीनाली नोक्सान गर्नुका साथै वन्यजन्तुका कारण सर्वसाधारणको सुरक्षामा समेत गम्भीर खतरा बढेको सांसद शर्माले बताइन्।
अचेल एक्लै हिँडडुल गर्दा समेत जुनसुकै बेला बाँदरले आक्रमण गर्ने जोखिम रहेकाले मानिसहरू एक्लोदुक्लो हिँड्न समेत डराउनुपर्ने अवस्था बनेको उनले संसद्मा प्रष्ट पारिन्।
ग्रामीण क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको र किसानहरू असुरक्षित भएको भन्दै उनले बाँदर, बँदेल र हात्तीको आतंकलाई तत्काल नियन्त्रण गर्नका लागि ठोस र प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार आग्रह गरिन्।






डिसी नेपाल





Facebook Comment