कृषिमा आधुनिक प्रविधिको कमाल: नवलपरासीमा धान रोप्ने मेसिनतर्फ किसानको आकर्षण बढ्दो
मध्यविन्दु (नवलपरासी) । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै निकै सहज र छरितो बन्दै गएको छ। कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि एक प्रभावकारी विकल्पका रूपमा स्थापित हुन थालेको हो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा यसप्रति किसानहरूको आकर्षण पनि निकै बढेको पाइएको छ।
मध्यविन्दु नगरपालिका-१ मा प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले हिजोआज केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गरिरहेको छ। परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिनमार्फत छोटो समयमै सम्पन्न हुन थालेपछि स्थानीय किसानहरू निकै उत्साहित भएका छन्।
मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाइँ व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको ठूलो बचत हुने प्रकृति कृषि सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताएका छन्।
खेतीपातीमा जनशक्ति अभाव हुँदै गइरहेको वर्तमान अवस्थामा आधुनिक प्रविधिले कृषि कार्यलाई सहज बनाएको उल्लेख गर्दै उनले कम श्रम र कम समयमा बढी काम गर्न सकिने भएकाले कृषि यान्त्रीकरणप्रति किसानको विश्वास बढ्दै गएको प्रस्ट पारे।
मध्यविन्दु नगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न तथा कृषिलाई व्यावसायिक एवं प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरणलाई विशेष प्राथमिकतामा राख्दै आएको छ।
नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, कृषि एम्बुलेन्सलगायतका आधुनिक कृषि उपकरणहरू किसानलाई ८५ प्रतिशतसम्मको ठूलो अनुदानमा उपलब्ध गराउँदै आएको नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए।
कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने र युवा पुस्तालाई कृषि पेसाप्रति आकर्षित गर्ने लक्ष्यका साथ नगरपालिकाले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको नगर प्रमुख अधिकारीको भनाइ छ।
यसैगरी, जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत गैँडाकोट नगरपालिकाका पाँचवटा वडाहरूमा धान जोन कार्यक्रम समेत सञ्चालनमा रहेको छ। त्यहाँका कृषक समूहहरूले पनि धान रोप्ने मेसिनको प्रयोग गर्दै आएका छन् भने यस वर्षदेखि उनीहरूलाई कम्बाइन हार्भेस्टरसमेत उपलब्ध गराइएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा हाल करिब १९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिएका छन्। जिल्लामा पछिल्लो वर्षदेखि धान रोप्ने मेसिनलगायतका आधुनिक कृषि यन्त्रतर्फ किसानको आकर्षण र माग तीव्र रूपमा बढेको उनले बताए।
कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव, बढ्दो उत्पादन लागत र जलवायु परिवर्तनका चुनौतीका बीच आधुनिक प्रविधिको प्रयोग किसानका लागि अनिवार्य आवश्यकता बन्दै गएको उल्लेख गर्दै अर्थविज्ञ ढकालले खेतीपातीमा यान्त्रीकरणको विस्तारसँगै किसानको शारीरिक श्रम घट्नुका साथै कृषि पेसाप्रति आम नागरिकको आकर्षण समेत थपिँदै गएको उल्लेख गरे।






डिसी नेपाल





Facebook Comment