देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र, ७ दिनभित्र उपस्थित हुन निर्देशन
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा सात दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।
विभागले सोमबार काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर सार्वजनिक सूचना टाँस गर्दै जयवीर सिंह देउवालाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो।
विभागद्वारा जारी सूचनाअनुसार जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा आवश्यक विवरण तथा केही विषयमा स्पष्टीकरण लिनुपर्ने भएकाले उनलाई उपस्थित हुन भनिएको हो। यो सूचना सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरिएको विभागले जनाएको छ।
सूचनामा तोकिएको सात दिनको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
स्रोतका अनुसार जयवीर सिंह देउवाविरुद्ध नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का तथा राहदानी (पासपोर्ट) मुद्रणसम्बन्धी ठेक्कामा अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र बयानका लागि पत्र जारी गरिएको बताइएको छ।
यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवामाथि अनुसन्धानका लागि बयानमा उपस्थित हुन पत्र जारी गरिसकेको स्रोतले जनाएको छ।
यद्यपि, सम्बन्धित आरोपबारे अन्तिम निष्कर्ष आइसकेको छैन। अनुसन्धान प्रक्रिया जारी रहेकाले दोष वा निर्दोषको विषय कानुनी प्रक्रिया पूरा भएपछि मात्र टुंगो लाग्नेछ।






डिसी नेपाल





Facebook Comment