‘कस्टमर एक्सपेरियन्स जोन’ सहित इटहरी र नारायणगढमा शाओमीका नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
काठमाडाैं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना प्रयोगकर्ताहरूलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले धरानलाइन, इटहरी र लायन्सचोक, नारायणगढमा नयाँ आधिकारिक सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याएको छ।
यी नयाँ सेन्टरहरू मार्फत ग्राहकहरूले शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड जस्ता वेअरएबल्स, इयरफोन तथा हेडफोन जस्ता हियरएबल्स र विभिन्न आइओटी (IoT) उपकरणहरूको मर्मत तथा प्राविधिक सहयोग प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नका लागि यी सेन्टरहरूमा शाओमीका वास्तविक अर्थात् जेनुइन स्पेयर पार्ट्सहरू मात्र उपलब्ध गराइने कम्पनीले जनाएको छ।
रमेश कर्प अन्तर्गतको कम्पनी टेलिडाइरेक्ट प्रा.लि.ले यी सर्भिस सेन्टरहरूको सञ्चालन गर्ने जिम्मेवारी लिएको छ, जसले पहिलेदेखि नै नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक र विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ।
यसै क्रममा इटहरीको सर्भिस सेन्टरमा ग्राहकका लागि एउटा विशेष ‘कस्टमर एक्सपेरियन्स जोन’ समेत स्थापना गरिएको छ, जहाँ ग्राहकहरूले शाओमीका विभिन्न नयाँ उत्पादनहरू प्रत्यक्ष रूपमा हेर्न, प्रयोग गर्न र अनुभव गर्न पाउनेछन्।
आधुनिक डिजाइन र विशेष सुविधासहित तयार गरिएको यो जोनले ग्राहकहरूलाई अन्य सामान्य सर्भिस सेन्टरको तुलनामा अझ सहज, आधुनिक र उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।
यो उद्घाटनको अवसरलाई विशेष बनाउन कम्पनीले ग्राहकहरूका लागि चाँडै नै आकर्षक छुट योजना ल्याउने घोषणा समेत गरेको छ, जसको विस्तृत जानकारीका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जाल वा सिधै सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिनेछ।
नयाँ सर्भिस सेन्टरहरू सञ्चालनमा आउनु शाओमीका ग्राहकहरूलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम भएको टेलिडाइरेक्ट प्रा.लि.का जनरल मेनेजर दीपक श्रेष्ठले बताए।
साथै, उनले ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै नेपालभर बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
यी नयाँ सेन्टरहरूमा दक्ष प्राविधिकहरू खटाइने हुनाले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्याहरू समेत आधिकारिक मापदण्ड अनुसार समाधान गरिनेछ र शाओमी प्रयोगकर्ताहरूले तत्काल आवश्यक सर्भिस र सल्लाहका लागि ढुक्क भएर यी स्थानहरूमा सम्पर्क गर्न सक्नेछन्।






डिसी नेपाल





Facebook Comment