सामान्य वर्षामा पनि किन डुब्दै छ काठमाडौं? पूर्वाधारको कमजोरी र प्रकृति परिवर्तनले निम्त्याउँदै संकट

प्रगति ढकाल/रासस
२३ असार २०८३ १०:५६

काठमाडाैं। मनसुन याममा काठमाडौं उपत्यकाको मौसम निकै अनपेक्षित बन्ने गरेको छ। बिहानभर टन्टलापुर घाम लागे पनि साँझपख अचानक हुने मुसलधारे वर्षाले उपत्यकावासीलाई सधैं सडक डुबानको चिन्तामा पार्ने गर्दछ।

हालैको एक बिहीबार साँझ पनि कार्यालय र कलेजबाट घर फर्कने व्यस्त समयमा केही मिनेट मात्र परेको पानीले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नजिकैका माइतीघर र अनामनगर लगायतका क्षेत्रहरूलाई क्षणभरमै जलमग्न बनायो।

सडकमा सवारीसाधनहरू पानीमै रोकिनु, पैदलयात्री सुरक्षित बाटो खोज्दै भौंतारिनु र दुईपाङ्ग्रे सवारी चालकहरू पानीमुनि लुकेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिममा पर्नु उपत्यकाको स्थायी समस्याजस्तै बनिसकेको छ।

भारी वर्षा नै नभए पनि राजधानी बर्सेनि डुबानमा पर्नुको पछाडि अव्यवस्थित सहरीकरण, साँघुरा तथा अवरुद्ध ढल प्रणाली, नदी-खोलाको अतिक्रमण र बढ्दो कङ्क्रिट संरचनाका कारण पानी जमिनमा सोसिन नपाउनु मुख्य कारण रहेको विज्ञहरू बताउँछन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार सडक डुबानको समस्या केवल वर्षाका कारण मात्र नभई ढल प्रणालीमा बढेको चाप र प्लास्टिकजन्य फोहरका कारण थप जटिल बनेको हो।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले ढलमा प्लास्टिकका झोला, बोतल र प्याकेजिङ सामग्री फाल्ने प्रवृत्तिले गर्दा पानीको बहाव अवरुद्ध हुने र खोलातर्फ बग्नुपर्ने पानी उल्टै सडकमा फैलिने गरेको बताए।

मनसुनका बेला सडक विस्तार तथा मर्मतका कार्यबाट बग्ने माटो र बालुवा ढलभित्र जम्मा हुनुका साथै पूर्वाधार निर्माण गर्ने विभिन्न निकायहरूबीच समन्वय नहुँदा कुन क्षेत्रमा कति क्षमताको ढल आवश्यक पर्छ भन्ने योजना बन्न सकेको छैन।

तीव्र सहरीकरणले गर्दा विगतमा पानी सोस्ने खुला जमिनहरू अहिले कङ्क्रिटले ढाकिएका छन्, जसका कारण घरका छाना र आँगनको पानी सिधै ढलमा पुगेर प्रणालीको क्षमता नाघ्ने गरेको छ।

यसैगरी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालले परम्परागत ढल प्रणालीलाई क्रमशः अन्त्य गर्दै प्रशोधनपछि मात्र नदीमा मिसाउने नीति ल्याइएको र अकासेपानी पुनर्भरणका कार्यक्रमहरू सुरु गरिएको जानकारी दिए।

हालसम्म त्रिचन्द्र बहुमुखी क्याम्पस लगायत उपत्यकाका विभिन्न सार्वजनिक भवन तथा विद्यालयहरूमा ३०० भन्दा बढी पुनर्भरण संरचना निर्माण भइसकेका छन्, जसले छतको पानीलाई रानीपोखरी क्षेत्र र जमिनमुनि पठाएर भूजलको स्तर संरक्षण गर्न सहयोग गरिरहेका छन्।

तथापि, मनसुनमा सडकबाट बग्ने लेदो र फोहरले ढल जाम गर्ने समस्या उस्तै रहेकाले संघीय सरकार, स्थानीय तह र सम्बन्धित निकायहरूबीच थप प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।

अर्कातर्फ, भूगर्भविद् डा. सुवोध ढकालले मनसुन अगावै ढल, खोला र नाला सफा नगरिँदा तथा प्राकृतिक रूपमा पानी सोसिने ग्राभेल र बालुवायुक्त क्षेत्रहरू कङ्क्रिटले पुरिँदा यो संकट गहिरिएको उल्लेख गरे।

उनले प्रत्येक घर निर्माण गर्दा सबै भूभाग कङ्क्रिटले ढाक्नुको सट्टा केही भाग खुला छाडेर वर्षाको पानी जमिनभित्र पठाउने वा ट्यांकीमा संकलन गरेर हिउँदमा प्रयोग गर्ने मापदण्ड अनिवार्य गरिनुपर्नेमा जोड दिए।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरले खोलाकिनार र ढलका फोहर सफा गरेर डुबान रोक्ने प्रयास गरिरहेको र आपत्कालीन उद्धारका लागि तयारी अवस्थामा रहेको बताए पनि छोटो समयमा हुने अत्यधिक वर्षाका कारण समस्या पूर्ण रूपमा हट्न नसकेको स्वीकार गरे।

मौसम र जलवायुको क्षेत्रमा आएको परिवर्तनले पनि यो समस्यालाई थप बल पुर्‍याएको छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनका अनुसार पहिला दुई-तीन दिनसम्म हल्का हुने वर्षा अचेल एकै घण्टामा हुने गरेको छ।

बबरमहल क्षेत्रमा एक घण्टामै ४७ मिलिमिटर जति वर्षा हुनु यसकै उदाहरण हो, जुन पानी दिनभरिमा परेको भए डुबान हुने थिएन। कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले छोटो अवधिमा धेरै पानी पर्ने यस्ता मौसमीय चरम घटनाहरूलाई जलवायु परिवर्तनको सम्भावित प्रभावका रूपमा लिन सकिने बताए।

उनले तीव्र बसाइँसराइले सहरी क्षेत्रमा चाप बढाएको अवस्थामा उपयुक्त पूर्वाधार विकास र योजनाबद्ध व्यवस्थापन हुन नसक्दा जलवायुजन्य विपद्को जोखिम झन् चुलिएको बताउँदै यी हानि-नोक्सानीका तथ्यांकहरूले अन्तर्राष्ट्रिय जलवायु वित्त कोषहरूमा नेपालको पहुँच बढाउन आधार दिने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *