प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता, सुशासन र पूर्वाधार विकासमा छलफल केन्द्रित

डिसी नेपाल
२३ असार २०८३ १२:२९

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको उक्त उच्चस्तरीय भेटवार्तामा नेपालको समग्र विकास प्रयास र द्विपक्षीय सहयोगका विविध पक्षमा गहन छलफल भएको छ।

भेटघाटका क्रममा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक क्षेत्रको सुधार र दिगो पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्य बढाउने विषयमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

केन्द्रीय बैंकको पूर्व उच्च अधिकारीसमेत रहेका जापानी नागरिक कान्डा अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य र नेपाल जस्ता विकासोन्मुख देशहरूको आर्थिक रूपान्तरणका विषयमा गहिरो दख्खल राख्छन्।

नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकासमा एडीबी लामो समयदेखि एक प्रमुख रणनीतिक साझेदार रहँदै आएको पृष्ठभूमिमा यो भेटलाई निकै महत्त्वका साथ हेरिएको छ।

हाल नेपालको औपचारिक भ्रमणमा रहेका अध्यक्ष कान्डाले यसअघि सोमबार मात्रै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि छुट्टै भेटवार्ता गरी नेपालको वर्तमान आर्थिक अवस्था र आगामी सुधारका योजनाबारे छलफल गरेका थिए।

सोमबार नै नेपाल सरकार र एसियाली विकास बैंकबीच एक महत्त्वपूर्ण सम्झौतामा समेत हस्ताक्षर भइसकेको छ। नेपालको प्राथमिकतामा रहेका विकास आयोजनाहरू कार्यान्वयनका लागि एडीबीले करिब २५ अर्ब रुपैयाँ अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्झौता भएको हो।

सो सहुलियतपूर्ण ऋण सहायतालाई नेपालको आर्थिक स्थायित्व, पूर्वाधार विकास र रणनीतिक क्षेत्रको सुदृढीकरणमा परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *