मनाङमा चामलको माग उच्च

डिसी नेपाल
२३ असार २०८३ २१:४३

मनाङ। हिमाली जिल्ला मनाङमा चामलको माग उच्च रूपमा बढेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत सहुलियत मूल्यमा चामल बिक्री वितरण भइरहेको छ।

जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममार्फत चामल, चिनी, दाल र खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख रामाशङ्कर कुशवाहाले जानकारी दिएका छन्।

मनाङमा धान उत्पादन नहुने भएकाले पनि यहाँ चामलको माग बढी रहेको उनको भनाइ छ। माग अनुसार सहुलियत मूल्यमा खाद्य सामग्री उपलब्ध हुँदा स्थानीय बासिन्दालाई निकै सहज भएको छ।

कार्यालयको तथ्याङ्क अनुसार २०८३ असार २१ गतेसम्म जनता बिक्री कार्यक्रम अन्तर्गत स्टिम जिरा मसिनो चामल ४४२.७५ क्विन्टल बिक्री भएको छ। त्यस्तै, अन्नपूर्ण सोना मन्सुली चामल ३०३.५० क्विन्टल, एफआर सोना मन्सुली चामल ११२ क्विन्टल, एफआर स्टिम जिरा मसिनो चामल ८८.७५ क्विन्टल, लङ्ग ग्रेन चामल १३.८५ क्विन्टल र बासमती चामल छ क्विन्टल बिक्री भएको कुशवाहाले जानकारी दिए।

यसका साथै दैनिक उपभोग्य वस्तुमध्ये चिनी २४०.४० क्विन्टल बिक्री भएको छ। दाल र पिठो अन्तर्गत रातो मुसुरो दाल ४६.९१ क्विन्टल, मास दाल २०.२२ क्विन्टल, चना ६.८९ क्विन्टल, पिठो १३.२५ क्विन्टल, मैदा २.७६ क्विन्टल तथा रहर दाल २.१० क्विन्टल उपभोक्ताले खरिद गरेका छन्।

खाने तेलतर्फ सुरुची सनफ्लावर तेल सात हजार ६६४ लिटर, सुरुची तोरीको तेल एक हजार ४३३ लिटर र भटमासको तेल एक हजार ४३८ लिटर बिक्री भएको छ। त्यस्तै, शान्ति तोरीको तेल १९ लिटर तथा डिडिसी घ्यु ६६ किलोग्राम बिक्री भएको कार्यालयले जनाएको छ। मसला तथा अन्य उपभोग्य सामग्रीतर्फ चिउरा ८.८३ क्विन्टल, जिरा दाना १.८ क्विन्टल सहित विभिन्न प्रकारका चिया, बेसार, धनियाँ, खुर्सानी पाउडर तथा स्थानीय उत्पादन पनि बिक्री भएको छ।

शाखा प्रमुख कुशवाहाका अनुसार हाल कार्यालयले सात प्रकारका चामल, चार प्रकारका दाल, चार प्रकारका पिठो, चार प्रकारका खाने तेल, १० प्रकारका मसला, डिडिसी घ्यु, चिउरा, गेडागुडी, चिनी, बिस्कुट र चाउचाउ लगायत ५९ प्रकारका खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *