एकथरीले मात्रै नियम मान्ने अवस्था आए लोकतन्त्रमा अराजकता निम्तिन्छ: हर्क साम्पाङ

डिसी नेपाल
२४ असार २०८३ १३:१७

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा कानुन र नियम सबैले समान रूपमा पालना गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियम पालना गर्ने विषयमा विभेद गरिए लोकतन्त्र अराजकतामा परिणत हुने चेतावनी दिए।

अध्यक्ष साम्पाङले पछिल्लो समय सदन पनि बिस्तारै अराजकतातर्फ उन्मुख हुन थालेको महसुस भइरहेको बताए। उनले संविधान र संसदीय नियमावलीअनुसार प्रधानमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरूलाई नियमित रूपमा संसद्मा उपस्थित गराउन सभामुखले प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरे।

“लोकतन्त्रमा नियम सबैले मान्नुपर्छ। एक थरीले मात्रै नियम मान्ने र अर्को थरीले नमान्ने अवस्था आयो भने त्यसले मुलुकमा अराजकता निम्त्याउँछ,” उनले भने।

सांसदलाई धम्की दिनेमाथि कारबाही नभएकोमा आपत्ति

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोगप्रति समेत गम्भीर चिन्ता व्यक्त गरे। प्रधानमन्त्री तथा मन्त्रीलाई गाली गर्ने व्यक्तिहरूमाथि राज्यले तत्काल कारबाही गर्ने तर सांसदहरूलाई धम्की दिनेहरूमाथि समान रूपमा कारबाही नभएको भन्दै उनले दोहोरो मापदण्डमाथि प्रश्न उठाए।

आफूलाई समेत सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र घर जलाइदिने धम्की आएको जानकारी गराउँदै उनले यस विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिँदा समेत हालसम्म कुनै कारबाही नभएको गुनासो पोखे। उनले सबै दलका नेता तथा कार्यकर्ताहरूलाई अभिव्यक्तिको मर्यादा कायम राख्न सचेत हुन आग्रह गरे।

‘दृष्टिविहीन नागरिक बसी-बसी खान चाहँदैनन्, रोजगारी दिनुस्’

बैठकमा उनले काठमाडौंमा दृष्टिविहीन व्यक्तिहरूले गरिरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने बताए। उनीहरूको माग केवल भत्ता वृद्धि मात्र नभई आफूले गर्न सक्ने कामका लागि रोजगारीको अवसर पाउनु रहेको उनले स्पष्ट पारे।

“उहाँहरू बसी-बसी खान चाहनुभएको होइन। फोन रिसिभ गर्ने वा बसेर गर्न सकिने अन्य कामहरू हामी गर्न सक्छौँ, हामीलाई रोजगारी दिनुस् भन्ने उहाँहरूको जायज माग हो,” साम्पाङले सदनमा भने।

उनले सरकारले दृष्टिविहीन नागरिकहरूका लागि तत्काल रोजगारीको व्यवस्था सुरु गर्नुपर्ने र एकैपटक सबैलाई सम्भव नभए पनि क्रमशः केही व्यक्तिहरूबाट यसको थालनी गर्न सकिने सुझाव दिए।

बुद्धको मूर्ति बाँधिएको घटना र विकास निर्माणको गुणस्तरमा ध्यानाकर्षण

अध्यक्ष साम्पाङले सुर्खेतमा बुद्धको मूर्तिलाई साङ्लो (चेन) ले बाँधेर राखिएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले उक्त घटनाबारे गृह मन्त्रालय र सम्बन्धित निकायले तत्काल अनुसन्धान गर्नुपर्ने माग गरे।

यसैगरी, देशभित्र सञ्चालित सरकारी योजनाहरूको निर्माण कार्य निकै कमजोर र गुणस्तरहीन भइरहेको भन्दै उनले निर्माणस्थल (साइट) मा सरकारी प्राविधिक र निर्माण व्यवसायीका प्रतिनिधि अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था गर्न माग गरे।

“जनताले खाई-नखाई तिरेको करको यसरी दुरुपयोग हुनुहुँदैन। निर्माण कार्य भइरहेको ठाउँमा सरकारी कर्मचारी र निर्माण व्यवसायीका प्रतिनिधि अनिवार्य उपस्थित भएर गुणस्तर सुनिश्चित गर्नुपर्छ,” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.