मन्त्रिपरिषद् बैठक: भ्रष्टाचार विरुद्धको रणनीतिक योजना र मानव अधिकार कार्ययोजना स्वीकृत

डिसी नेपाल
२४ असार २०८३ १७:१५

काठमाडौं। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिवमा कार्कीलाई पदोन्नति गर्ने निर्णय गरेको हो। यसका साथै बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको रिक्त विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।

बैठकले देशको स्वास्थ्य, शिक्षा र प्रशासनिक क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण नियमावली तथा कार्ययोजनाहरू पारित गरेको छ।

जसअन्तर्गत सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ल्याउन कैलालीस्थित गेटा अस्पताललाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।

शिक्षा क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ लाई समेत स्वीकृत गरेको छ।

यसैगरी, प्रशासनिक तथा कानुनी सुधारका क्षेत्रमा कदम चाल्दै मन्त्रिपरिषद्ले कारागार नियमावली, २०८३ लाई स्वीकृति दिएको छ।

मुलुकमा विधिको शासन, मानव अधिकारको रक्षा र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै सरकारले मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४-२०८७/८८) र भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३-२०८७/८८) लाई समेत अनुमोदन गर्ने निर्णय गरेको छ। सरकारका यी निर्णयहरूले मुलुकको विकास, सुशासन र नागरिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.