मन्त्रिपरिषद्ले गर्यो स्वास्थ्य र शिक्षा क्षेत्रमा नीतिगत सुधारको निर्णय
काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका मुख्य निर्णयहरू सार्वजनिक गर्दै प्रशासन संयन्त्रमा महत्त्वपूर्ण फेरबदल गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरिएको बताए।
प्रशासनिक सुधार र सुशासनलाई प्राथमिकतामा राखेको सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ। बैठकले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ। यस निर्णयसँगै सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा नयाँ ढोका खुलेको छ।
त्यस्तै, शिक्षा क्षेत्रको नियमनलाई थप व्यवस्थित बनाउन सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ र ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ लाई स्वीकृति दिएको छ। यी दुई नियमावलीले मुलुकभित्र सञ्चालित शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक अध्ययन सम्बन्धी कार्यक्रमहरूलाई थप पारदर्शी र मर्यादित बनाउने विश्वास लिइएको छ।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, कारागार प्रशासनमा सुधार ल्याउने उद्देश्यले सरकारले ‘कारागार नियमावली, २०८३’ स्वीकृत गरेको छ।
सुशासन र मानव अधिकार प्रवर्द्धन गर्ने सरकारी प्रतिबद्धताअनुसार, मन्त्रिपरिषद्ले मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजनालाई समेत स्वीकृत गरेको छ। सरकारको यो कदमलाई भ्रष्टाचार नियन्त्रण र मानव अधिकारको सुनिश्चितताका लागि चालिएको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।






डिसी नेपाल





Facebook Comment