शुकलाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो: चालु आर्थिक वर्षमा चार हजारभन्दा बढीद्वारा भ्रमण

डिसी नेपाल
२६ असार २०८३ ७:२७

कञ्चनपुर। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ। चालु आर्थिक वर्षको असार महिनासम्म कुल चार हजार १९१ पर्यटकले निकुञ्जको भ्रमण गरिसकेका छन्।

यो संख्या गत आर्थिक वर्ष २०८१/८२ को कुल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जना अर्थात् करिब १२.६ प्रतिशतले बढी हो। निकुञ्ज प्रशासनको तथ्यांक अनुसार चालु आवको असोजदेखि असारसम्म निकुञ्ज घुम्नेहरूमा एक हजार ६५७ महिला र दुई हजार ५३४ पुरुष रहेका छन्, जसले यहाँको पर्यटन क्षेत्रमा आएको सकारात्मक सुधारलाई संकेत गर्दछ।

निकुञ्ज भ्रमण गर्नेहरूमा आन्तरिक पर्यटकको वर्चस्व निकै बलियो देखिएको छ। कुल पर्यटकमध्ये झण्डै ८८ प्रतिशत अर्थात् तीन हजार ६९९ जना नेपाली नागरिक मात्रै रहेका छन्, जसमा एक हजार ५१३ महिला र दुई हजार १८६ पुरुष छन्।

यस तथ्यांकले शुक्लाफाँटा आन्तरिक पर्यटनको प्रमुख रोजाइ बन्दै गएको स्पष्ट पार्छ। यस्तै, सार्क राष्ट्रबाट ३५८ र तेस्रो मुलुकबाट १५६ विदेशी पर्यटक निकुञ्ज पुगेका छन्। विदेशी पर्यटकको आगमन संख्या अपेक्षाकृत कम भए पनि गत वर्षको तुलनामा यस वर्ष केही वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ।

महिनागत रूपमा हेर्दा अनुकूल मौसम र वन्यजन्तु सहजै देखिने समय भएकाले चैत, वैशाख र जेठ महिनामा पर्यटकको चाप बढी हुने गरेको छ।

सबैभन्दा बढी चैत महिनामा ६२१ जनाले निकुञ्ज भ्रमण गरेका छन् भने कात्तिकमा ५८०, जेठमा ५७९ र वैशाखमा ५५४ जना पर्यटक निकुञ्ज पुगेका छन्। वर्षायाम र पर्यटकीय सिजन सुरु नहुने भएकाले असोज महिनामा भने सबैभन्दा कम अर्थात् मात्र नौ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए।

करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिने बाह्रसिंगाको सबैभन्दा ठूलो बासस्थानका रूपमा प्रख्यात छ।

बाह्रसिंगाका अतिरिक्त यहाँ पाटेबाघ, जंगली हात्ती, एकसिंगे गैँडा, चितुवा, नीलगाई, जरायो र ४५० भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू आकर्षक रूपमा अवलोकन गर्न पाइन्छ।

निकुञ्जभित्र रहेका विशाल घाँसेमैदान, रानीताल, सिकारी ताल, वन्यजन्तु अवलोकन टावर तथा प्राकृतिक पदमार्गहरू पर्यटकका मुख्य रोजाइमा पर्ने गरेका छन्, जहाँ बिहान र साँझको समयमा हात्ती तथा जिप सफारीमार्फत प्राकृतिक सम्पदाको आनन्द लिन सकिन्छ। निकुञ्ज प्रशासनले पूर्वाधार विकास र प्रचारप्रसारमा थप ध्यान दिन सके आगामी दिनमा विदेशी पर्यटकको आगमन अझै उल्लेख्य रूपमा बढ्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *