प्रधानमन्त्री बालेनले सचिवहरूलाई भने- शासकीय सुधारमा ढिलासुस्ती सह्य छैन

डिसी नेपाल
२९ असार २०८३ २०:५९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रालयका सचिवहरूसँग आकस्मिक छलफल गर्दै सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा तीव्रता दिन निर्देशन दिएका छन्।

सोमबार कार्यालय समय सकिनै लाग्दा प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा डाकेर विशेष छलफल गरेका हुन्। सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूची कार्यान्वयनलाई प्रभावकारी बनाउन गठन गरिएको ‘पीएम डेलिभरी युनिट’ र मन्त्रालयहरूबीचको समन्वयका विषयमा प्रधानमन्त्रीले गम्भीर चासो व्यक्त गरेका छन्।

छलफलमा प्रधानमन्त्री शाहले प्रशासनिक सुधार, नागरिक सुरक्षा, सेवा प्रवाह र विकास निर्माणका काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै कामलाई नतिजामुखी बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, बैठकमा प्रधानमन्त्रीले भने, ‘प्रतिबद्धताहरू कडाइपूर्वक कार्यान्वयन हुनुपर्छ। कार्यसूचीमा रहेका विषयमा ढिलासुस्ती नगरी समन्वयात्मक ढंगले द्रुत रूपमा काम पूरा गर्नुहोस्। अब समयसीमा निर्धारण गरेर कामको नतिजा देखिनुपर्छ।’

सरकारले प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउने उद्देश्यले विभिन्न संयन्त्रहरू गठन गरे पनि कार्यान्वयन पक्षमा देखिएको सुस्ततालाई चिर्न प्रधानमन्त्री आफैँले सचिवहरूलाई सक्रिय बनाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *