सप्तकोसीमा बढ्यो पानीको बहाव: खतराको संकेतस्वरूप रातो बत्ती र झण्डा

डिसी नेपाल
३० असार २०८३ ७:१९

सुनसरी। पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लाहरूमा लगातार भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ। कोसी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का अनुसार पछिल्लो मापनअनुसार नदीमा पानीको बहाव १ लाख ७२ हजार ४ सय ३२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

नदीमा जलस्तर लगातार बढेपछि सम्भावित जोखिम र बाढीको खतरालाई मध्यनजर गर्दै कोसी ब्यारेजका ढोकाहरू खोल्न सुरु गरिएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार ब्यारेजका कुल ५२ वटा मूल ढोका र २ वटा नहरका ढोका गरी ५६ वटा ढोकाहरूमध्ये हालसम्म २० वटा ढोकाहरू खुला गरिसकिएको छ।

नदीमा पानीको बहाव अझै पनि बढ्दो क्रममा रहेका कारण तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी र सम्भावित क्षतिप्रति स्थानीय प्रशासन तथा सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ। मनसुन सक्रिय रहँदा नदीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *