प्रतिनिधि सभा बैठक बस्दै, विभिन्न प्रतिवेदन र विधेयक पेस हुने

डिसी नेपाल
३० असार २०८३ ९:५४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकका लागि विभिन्न प्रतिवेदन पेस गर्ने तथा विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन्। त्यसैगरी, उनले लोक सेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) समेत सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। अनुमति प्राप्त भएपछि उनले उक्त विधेयक बैठकमा प्रस्तुत गर्नेछन्।

यसैगरी, कानुनमन्त्री गौतमले प्रधानमन्त्री शाहकै तर्फबाट ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछिन्।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, मन्त्री यादवले आईएलओकै श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्तावसमेत सदनमा पेस गर्ने कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *