लियोनेल मेस्सीको नयाँ अवतार: सुस्त मेस्सी अनि चुस्त मेस्सी

डिसी नेपाल
३१ असार २०८३ १२:०७

काठमाडौं । यदि अर्जेन्टिना सन् १९६२ यता विश्वकपको उपाधि रक्षा गर्ने विश्वकै पहिलो र इतिहासकै तेस्रो राष्ट्र बन्ने दौडमा छ भने, त्यसको केन्द्रबिन्दुमा पुनः एकपटक लियोनेल मेस्सी रहने निश्चित छ। ३९ वर्षीय मेस्सीले आफ्नो छैटौं विश्वकपमा सानदार प्रदर्शन गरिरहेका छन्, जुन पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगको संयुक्त कीर्तिमान हो।

यस प्रतियोगितामा उनले आठ गोल गरिसकेका छन् भने तीनवटा असिस्ट (गोलका लागि पास) प्रदान गरेका छन्। फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेसँगै मेस्सी गोल्डेन बुटको दौडमा अगाडि रहे पनि, विश्वभरका खेलप्रेमीहरूले सन् २००३ मा बार्सिलोनाबाट डेब्यु गर्दाको भन्दा अहिले नितान्त फरक मेस्सी देखिरहेका छन्।

बुधबार एट्लान्टा स्टेडियममा हुने सेमिफाइनल खेलमा अर्जेन्टिनाले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी इङ्गल्याण्डको सामना गर्दैछ, जहाँ सम्पूर्ण खेल जगत्को ध्यान पुनः मेस्सीमाथि नै केन्द्रित हुनेछ।

अधिकांश खेलाडीहरूको उमेरसँगै प्रदर्शनमा ह्रास आउँछ, तर उत्कृष्ट खेलाडीहरूले समय अनुसार आफूलाई अनुकूलन गर्छन्। जसरी गति कम भएपछि रोनाल्डोले आफूलाई पेनल्टी बक्सको सिकारीका रूपमा ढालेका थिए, मेस्सीले भने आफ्नो खेल खस्कन दिएका छैनन्। बरु, उनले खेलमा आफ्नो वर्चस्व कायम राख्न र विपक्षी रक्षापंक्ति भन्दा सधैं एक कदम अगाडि रहन आफ्नो शैलीमा परिमार्जन गरेका छन्।

यस विश्वकपमा मेस्सीले मैदानमा कम दौडिएर पनि धेरै अवसरहरू सिर्जना गरिरहेका छन्। उनले हालसम्म ३३ पटक गोलको प्रयास गरेका छन् भने २१ वटा अवसर सिर्जना गरेका छन्। सन् १९८६ मा डिएगो म्याराडोनाले राखेको कीर्तिमान पछि यो नै सबैभन्दा बढी (५४) संयुक्त योगदान हो।

अचम्मको कुरा त के छ भने, मेस्सीले मैदानमा तय गरेको कुल दूरीको ४७ प्रतिशत भाग केवल हिँडेरै पूरा गरेका छन्, जुन यस प्रतियोगिताका अन्य कुनै पनि सक्रिय खेलाडीको तुलनामा सबैभन्दा बढी प्रतिशत हो। २० मिनेटभन्दा बढी मैदानमा बिताएका अर्जेन्टिनाका खेलाडीहरूमध्ये मेस्सीको औसत दूरी सबैभन्दा कम अर्थात् प्रति ९० मिनेट मात्र ८.२ किलोमिटर रहेको छ।

तथ्याङ्क यतिमा मात्र सीमित छैन; चार वर्षअघि प्रतिखेल औसत ५.३ पटक तीव्र दौड (स्प्रिन्ट) लिने मेस्सीले यस पटक प्रतिखेल मात्र २.७ पटक स्प्रिन्ट लिएका छन्। इङ्गल्याण्डले यदि मेस्सीलाई रोक्ने हो भने उसले विगत १५ विश्वकप खेलमा पोल्याण्डले मात्र गर्न सकेको काम दोहोर्‍याउनुपर्नेछ, अर्थात् मेस्सीलाई गोल गर्न वा असिस्ट गर्नबाट रोक्नुपर्नेछ। मेस्सीले ती पछिल्ला १५ खेलमा मात्रै १६ गोल र सात असिस्ट गरिसकेका छन्।

१६ वर्षको उमेरमा जोसे मोरिन्होको पोर्टोविरुद्धको मैत्रीपूर्ण खेलमा बार्सिलोनाका तर्फबाट दायाँ विङ्गरका रूपमा डेब्यु गरेर डिफेन्डरहरूलाई छक्याउँदै भित्रतर्फ छिर्ने मेस्सीले अर्जेन्टिना र इन्टर मियामीसम्म आइपुग्दा आफूलाई कम्तीमा पाँच पटक पुनर्जीवित गरिसकेका छन्।

तत्कालीन विश्वकै सर्वोत्कृष्ट खेलाडी रोनाल्डिन्होले पहिलो पटक मेस्सीको प्रशिक्षण देख्दा नै उनी ‘संसारकै उत्कृष्ट’ बन्ने भविष्यवाणी गरेका थिए। त्यसको दुई वर्षपछि, सन् २००५ अगस्टमा युभेन्टस विरुद्धको जोआन ग्याम्पर ट्रफीमा १८ वर्षीय मेस्सीको जादुमयी खेल देखेर युभेन्टसका प्रशिक्षक फाबियो कापेलो यति प्रभावित भए कि उनले मेस्सीलाई अनुबन्ध गर्ने प्रयाससमेत गरेका थिए।

मेस्सी २१ वर्षको उमेरमा पुग्दा रोनाल्डिन्होको चमक कम हुँदै गयो र टोलीको जिम्मेवारी मेस्सीको काँधमा आयो। तत्कालीन बार्सिलोनाका प्रशिक्षक फ्रान्क राइजकार्डले मेस्सी टोलीको केन्द्रमा हुनुपर्ने र उनले जति धेरै बल चलाउँछन्, टोलीका लागि त्यति नै फाइदा हुने स्पष्ट पारेका थिए।

सन् २००८ मा पेप ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक बनेपछि सुरुका महिनाहरूमा मैदानको दायाँ भाग अर्जेन्टिनी खेलाडी मेस्सीको व्यक्तिगत मार्ग जस्तै बनेको थाल्यो। तर, पछि डिफेन्समा सहयोग नगर्ने मेस्सीको बानीका कारण ग्वार्डिओलाले उनलाई विङ्ग्सबाट हटाएर मैदानको बीच भागमा ल्याउने निर्णय गरे। त्यसपछि बार्सिलोनाको पूरै रणनीति नै मेस्सीको नयाँ पोजिसनलाई केन्द्रमा राखेर ठूला खेल र महत्त्वपूर्ण क्षणहरूका लागि निर्माण हुन थाल्यो।

सन् २००९ मे २ मा मड्रिडको सान्टियागो बर्नबेयु स्टेडियममा भएको ‘ला लिगा’ को खेलमा ग्वार्डिओलाले मेस्सीलाई दायाँ विङ्ग्सबाट हटाएर फरवार्डको अग्रपंक्तिमा राखे, तर उनलाई परम्परागत स्ट्राइकरको भूमिका दिइएन। सामुएल इटो दायाँ र थियरी हेनरी बायाँ लागे भने मेस्सीलाई पछाडि झरेर बल नियन्त्रण गर्ने र निर्णय लिने जिम्मेवारी दिइयो।

खेलको अन्त्यसम्म नतिजा ६-२ भयो र फुटबल इतिहासमा ‘फल्स नाइन’ को अवधारणाले नयाँ जीवन पायो। यो रणनीति पूर्ण रूपमा नयाँ भने थिएन, किनकि सन् १९५३ मा हङ्गेरीले इङ्गल्याण्डलाई ६-३ ले हराउँदा र पछि डच फुटबलमा योहान क्रुफले ‘टोटल फुटबल’ दर्शन अन्तर्गत यस्तै भूमिका निर्वाह गरिसकेका थिए। तर मेस्सी विपक्षी टोलीका लागि एउटा यस्तो समस्या बने जसको कुनै समाधान थिएन।

बिस्तारै जर्भी, आन्द्रेस इनिएस्टा र याया टुरे जस्ता मिडफिल्डरहरूको साथ पाएपछि मेस्सीको खेल थप निखारियो र उनले सन् २०११ देखि २०१३ को बीचमा ला लिगाका ६९ खेलमा ९६ गोल गरे। सन् २००९ मा उनले पहिलो बालोन डी’ओर जितेका थिए भने ३६ वर्षको उमेरसम्म आइपुग्दा उनले कुल आठ पटक यो प्रतिष्ठित अवार्ड आफ्नो नाममा गरिसकेका छन्।

सन् २०१५ मा जर्भी र त्यसको तीन वर्षपछि इनिएस्टाले बार्सिलोना छोडेपछि मेस्सीमाथि टोलीको सम्पूर्ण इन्जिन बन्ने जिम्मेवारी आयो। उनले आफूलाई ‘इन्गान्चे’ (प्लेमेकर वा हुक) को रूपमा विकास गर्दै खेलको होस्ट र गोलकर्ता दुवैको भूमिका एकसाथ निभाउन थाले। बार्सिलोनाको अन्तिम सिजन र पछि पेरिस सेन्ट जर्मेन (पीएसजी) मा उनको तथ्याङ्कले गोलभन्दा असिस्ट बढी भएको देखायो, जसलाई विश्लेषकहरूले “गोलकर्ताबाट इनिएस्टा बनेको खेलाडी” का रूपमा व्याख्या गरे।

यस सामरिक विकाससँगै अर्जेन्टिना राष्ट्रिय टोलीसँगको मेस्सीको सम्बन्धको कथा पनि निकै उतारचढावपूर्ण रह्यो। सन् २०११ मा कप्तान बनेपछि उनले लगातार तीनवटा ठूला फाइनल खेलहरू (सन् २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिका) मा पराजय भोग्नुपर्यो। लगातारको असफलता र जनअपेक्षाको दबाबका कारण उनले सन्यासको घोषणासमेत गरे, तर पछि उनी नयाँ सोचका साथ टोलीमा फर्किए।

सन् २०२१ को कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी समाप्त गर्दा मेस्सीको नेतृत्वदायी भूमिका अनुकरणीय थियो। सन् २०२२ को विश्वकपमा त मेस्सी विगतका सबै अनुभवहरूको मिश्रणका रूपमा प्रस्तुत भए, जहाँ उनले टोलीलाई विश्वविजेता बनाए।

इन्टर मियामी र सन् २०२४ को कोपा अमेरिका हुँदै अहिलेको खेलसम्म आइपुग्दा मेस्सी मैदानमा दौडिनुभन्दा बढी हिँड्ने गर्छन्। आलोचकहरूले पहिले यसलाई उनको कमजोरी ठाने पनि अहिले यो उनको खेलमाथिको परिपक्वता र नियन्त्रणका रूपमा हेरिन्छ।

गत दुई दशकमा मेस्सीले जे हासिल गरे, त्यो केवल ट्रफी र तथ्याङ्क मात्र होइन, बरु एक फुटबलरले आफ्नो खेल जीवनको हरेक चरणमा आफूलाई कसरी पूर्ण रूपमा नयाँ र सान्दर्भिक रूपमा प्रस्तुत गर्न सक्छ भन्ने अनुपम उदाहरण हो।

खेल पत्रकार गुइलेम बालागेले बीबीसी स्पोर्टसका लागि लेखेको विश्लेषणको नेपाली अनुवाद ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *