नेपालको नवप्रवर्तन यात्रामा सघाउन विश्वभरका नेपाली विज्ञहरूलाई मन्त्री महावीर पुनको आह्वान
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर छरिएर रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र विभिन्न क्षेत्रका व्यावसायिक पेसाकर्मीहरूलाई नेपालको नवप्रवर्तन र प्रविधि विकासको यात्रामा सक्रिय योगदान गर्न विशेष आह्वान गरेका छन्।
देशको दिगो आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको उच्च ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासको मूल प्रवाहसँग जोड्नुपर्नेमा जोड दिँदै उनले यसका लागि सरकारले उपयुक्त वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेसाकर्मीहरूसँग आयोजित विशेष छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालयले अहिले बिल्कुलै शून्यबाट कामको सुरुवात गरिरहेको स्वीकार गरे।
मन्त्रालयसँग हालसम्म समर्पित प्राविधिक टोली, स्पष्ट कार्य संरचना तथा आवश्यक कानुनी आधारसमेत तयार भइनसकेको स्पष्ट पार्दै उनले आगामी तीन महिनाभित्र बलियो संस्थागत संरचना निर्माण गरिने दाबी गरे।
विश्वविद्यालयहरूमा हुने अनुसन्धानलाई पुस्तकालयको र्याकमा मात्र सीमित नराखी व्यावहारिक तथा उत्पादनमुखी बनाउन राष्ट्रियस्तरमा नवप्रवर्तन र उत्कृष्टता केन्द्रहरू स्थापना गर्ने तथा गम्भीर अनुसन्धानमा लाग्नेहरूका लागि आवासीय सुविधासहितको अनुसन्धान केन्द्र बनाउने सोच सरकारको रहेको उनले बताए।
यसका साथै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को पुरानो भइसकेको ऐनलाई समयानुकूल परिमार्जन गर्न गृहकार्य सुरु भइसकेको र सूचना प्रविधि (आईटी) तथा कृत्रिम बौद्धिकता (एआई) लाई राष्ट्रिय प्राथमिकताको सूचीमा राखेर काम अघि बढाइएको उनले जानकारी दिए।
छलफलमा सहभागी विभिन्न देशका प्रतिष्ठित वैज्ञानिक र नीतिविज्ञहरूले नेपालको समृद्धिका लागि विज्ञान र प्रविधिलाई नै मुख्य मेरुदण्ड बनाउनुपर्ने धारणा राखेका थिए।
अष्ट्रेलियाको सीएसआईआरओका परामर्शदाता एवं आरएमआईटी विश्वविद्यालयका प्राध्यापक डा. राजु अधिकारीले नेपालका लागि दीर्घकालीन विज्ञान तथा प्रविधि रणनीति प्रस्तुत गर्दै नवीकरणीय ऊर्जा, जैविक प्रविधि, जलवायु विज्ञान, एआई, कृषि प्रविधि, रोबोटिक्स र अन्तरिक्ष प्रविधिलाई प्राथमिकतामा राख्न सुझाव दिए।
डा. अधिकारीले सन् २०१९ को पुरानो नीति परिमार्जन गर्न, राष्ट्रिय विज्ञान तथा प्रविधि सह-लगानी कोष स्थापना गर्न र उद्योग, विश्वविद्यालय तथा गैरआवासीय नेपाली समुदायबीच अनुसन्धान साझेदारी बढाउन लगानीमैत्री कर नीति ल्याउनुपर्नेमा जोड दिए।
त्यस्तै, बेलायतको चेष्टर विश्वविद्यालयका जनस्वास्थ्य विज्ञ डा. पदम सिम्खडाले जलवायु परिवर्तन र दिगोपनका क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्यको ठूलो सम्भावना रहेको औँल्याउनुभयो भने स्विडेनका प्राध्यापक गणेश आचार्यले नेपालमा विश्वस्तरीय क्लिनिकल अनुसन्धानका लागि बौद्धिक सम्पत्ति (आईपी) को बलियो संरक्षण र नीतिगत निरन्तरता आवश्यक रहेको बताए।
अर्कातर्फ, बेलायतको हल विश्वविद्यालयका सहायक प्राध्यापक भूपेश मिश्रले स्वास्थ्य र शिक्षाजस्ता संवेदनशील क्षेत्रमा नेपालले आफ्नै क्षेत्रीय एआई मोडल विकास गर्नुपर्ने र पश्चिमा मोडलमा मात्र निर्भर रहन नहुने सुझाव दिए।
विद्यालय तहदेखि नै नवप्रवर्तनको संस्कार सिकाउन शिक्षक तालिम र प्रविधिमैत्री वातावरण चाहिने कुरामा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले जोड दिए। मन्त्रीका मुख्य सल्लाहकार सञ्जय पौडेलले नास्ट र रिकास्टको भूमिकालाई पुनरावलोकन गर्दै नीतिगत जिम्मेवारीहरू नवगठित मन्त्रालय मातहत ल्याउने प्रक्रिया अघि बढेको जानकारी दिए।
मन्त्रालयले आगामी दिनमा प्रत्येक मन्त्रालयका अनुसन्धान एकाइहरूलाई एकीकृत रूपमा समन्वय गर्ने, गैरआवासीय नेपालीसँग सहकार्यका लागि छुट्टै बलियो संयन्त्र बनाउने र ‘स्टेम’ शिक्षालाई केन्द्रमा राखी राष्ट्रिय विज्ञान दृष्टिपत्र तयार गर्ने साझा प्रतिबद्धताका साथ कार्यक्रमको समापन गरिएको थियो।






डिसी नेपाल





Facebook Comment