ट्रान्स-हिमालय मञ्चमा सहभागी हुन उपसभामुख रुवी कुमारी ठाकुरको नेतृत्वमा पाँच सदस्यीय टोली चीन प्रस्थान

डिसी नेपाल
३१ असार २०८३ १३:१३

काठमाडौं। प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको छ।

जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित निङ्चीमा आयोजना हुने अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौँ ‘चीन-तिब्बत ट्रान्स-हिमालय मञ्च’ मा सहभागी हुन उपसभामुख ठाकुरसहितको टोली आज बिहान १०:४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेको हो।

नेपाली प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन्।

असार ३१ देखि साउन २ गते (१५-१७ जुलाई २०२६) सम्म सञ्चालन हुने उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख ठाकुरले नेपाली टोलीको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस मञ्चमा विशेषगरी हिमालय क्षेत्रको दिगो विकास, क्षेत्रीय सहकार्य तथा बहुआयामिक आपसी सम्बन्ध विस्तारका विविध आयामबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा उपसभामुख ठाकुर र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच द्विपक्षीय हितका विषयमा शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ।

यसका साथै भ्रमण अवधिभर अन्य चिनियाँ उच्च अधिकारीहरूसँग पनि नेपाली टोलीको भेटघाट हुनेछ। आफ्नो महत्त्वपूर्ण औपचारिक भ्रमण सम्पन्न गरी नेपाली प्रतिनिधिमण्डल आगामी साउन ४ गते दिउँसो १२:३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *