मेस्सीको समर्थकहरूलाई सन्देश: ‘यो टोलीले कहिल्यै निराश बनाउँदैन, विजयको उत्सव मनाउनुहोस्’

डिसी नेपाल
१ साउन २०८३ ११:०९

काठमाडौँ । लियोनेल मेस्सीले फुटबल इतिहासको पुस्तकमा स्वर्ण अक्षरले लेखिने गरी आफ्नो खेल जीवनको अर्को उत्कृष्ट अध्याय थपेका छन्। यी अर्जेन्टिनी स्टारले ऐतिहासिक प्रतिद्वन्द्वी इङ्गल्याण्ड विरुद्धको खेलमा अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन जितको कप्तानी गर्दै टोलीलाई पुनः एकपटक विश्वकपको फाइनलमा पुर्‍याएका छन्।

यस पटकको फाइनल भिडन्तमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ। मेस्सीले आफ्नो जीवनको अधिकांश समय स्पेनमै बिताएकाले उनका लागि यो फाइनल खेल निकै विशेष, भावनात्मक र अभूतपूर्व बन्ने निश्चित छ। फाइनलको मैदानमा उत्रनुअघि कप्तान मेस्सीले सम्पूर्ण देशवासीलाई सडकमा निस्किएर यो ऐतिहासिक जितको खुसीयाली मनाउन आग्रह गरेका छन्।

सेमिफाइनल खेलको समाप्ति र भव्य विजयोत्सवपछि अर्जेन्टिनी खेलकुद च्यानल ‘टीवाईसी स्पोर्ट्स’ सँग कुरा गर्दै मेस्सीले देशवासीका लागि एक भावुक सन्देश छोडेका छन्:’यो विश्वकप साँच्चै नै रोमाञ्चक र अद्भूत छ। लगातार अर्को विश्वकपको फाइनलमा पुग्नु हाम्रा लागि अविश्वसनीय क्षण हो। म सम्पूर्ण अर्जेन्टिनी समर्थकहरूलाई कतार विश्वकपमा भनेकै कुरा दोहोर्‍याउन चाहन्छु-यो ऐतिहासिक क्षणको भरपूर आनन्द लिनुहोस्, यो टोलीले तपाईंहरूलाई कहिल्यै निराश बनाउने छैन।’

साविक विश्वविजेता टोलीको विरासतलाई जोगाउँदै पुनः उपाधि रक्षाको नजिक पुगेको यात्राबारे चर्चा गर्दै मेस्सीले थपे, ‘आज हामी फेरि विश्वकपको फाइनलमा पुगेका छौं। हामीले अर्जेन्टिनालाई पुनः विश्वका उत्कृष्ट दुई टोलीको सूचीमा उभ्याउन सफल भएका छौं। विगत चार वर्षदेखि हामीले विश्वविजेता हुनुको गौरव र आनन्द लिइरहेका छौं।’

चारैतिर जितको उत्साह र खुसीयाली छाए पनि कप्तान मेस्सीले सन्तुलित र संयमित रहन आग्रह गरेका छन्। आगामी फाइनल खेल निकै चुनौतीपूर्ण हुने संकेत गर्दै कप्तान मेस्सीले भने, ‘आज हामीले फाइनलको यात्रा तय गर्दै आफूले चाहेको अन्तिम लक्ष्य हासिल गरेका छौं। अब आगामी परिणाम भगवानको इच्छामा भर पर्नेछ।’

आफ्नो भनाइको अन्त्यमा समर्थकहरूलाई खुसी साट्न आग्रह गर्दै उनले भने, ‘जसरी हामी मैदानभित्र यो ऐतिहासिक क्षणको आनन्द लिइरहेका छौं, तपाईंहरू पनि घर-घरमा यस उत्सवमा सहभागी हुनुहोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *