आधुनिकताका बीच कर्णालीमा साउने सङ्क्रान्तिको मौलिक रौनक: परम्परागत झराको राँको बालेर मनाइँदै
मुगु। आधुनिक जीवनशैली र प्रविधिको तीव्र विकाससँगै कतिपय पुराना संस्कार तथा संस्कृतिहरू ओझेलमा पर्दै गए पनि कर्णालीका ग्रामीण बस्तीहरूमा भने साउने सङ्क्रान्तिको मौलिक परम्परा अझै जीवितै रहेको छ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज साउने सङ्क्रान्ति पर्वका अवसरमा परम्परागत रूपमा झराको राँको बालेर हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ।
मुगु, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिमका ग्रामीण क्षेत्रहरूमा साउने सङ्क्रान्तिको साँझ झराको राँको बाल्ने पुस्तौँदेखिको चलनले यस वर्ष पनि निरन्तरता पाएको छ।
जङ्गलबाट खोजेर ल्याइएको खोटोयुक्त सल्लोको काठ (झरा) बाट तयार पारिएको राँको बालेर स्थानीयवासीले आ-आफ्नो घरआँगन, छत तथा गाउँ वरिपरि घुमाउने गर्छन्। परापूर्वकालदेखि चल्दै आएको यो मौलिक परम्परामा बालबालिका, युवादेखि लिएर ज्येष्ठ नागरिकहरूसमेत उत्तिकै उत्साहका साथ सहभागी हुने गरेका छन्।
गाउँभरि राँकोको उज्यालो फैलाउँदै एकापसमा शुभकामना साटासाट गर्ने, आफन्तहरूसँग भेटघाट गर्ने, मुठो खाने, दही-दूध खाने र सामूहिक रूपमा रमाइलो गर्ने चलनले सामाजिक एकता, भाइचारा र आपसी सद्भावलाई थप मजबुत बनाउन ठूलो मद्दत पुर्याएको स्थानीय बासिन्दा भीम चन्द हमालले बताए।
साउने सङ्क्रान्तिका अवसरमा कर्णालीका विभिन्न प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूमा परम्परागत मेला लाग्ने गर्दछ। विशेषगरी मुगुको प्रसिद्ध रारा ताल, लखुपाटन, गम्गी चौर, मिली र बाजथला, जुम्लाको ऐतिहासिक चन्दननाथ मन्दिर क्षेत्र तथा हुम्लाको लिमी क्षेत्रलगायतका स्थानमा स्थानीय मेलाहरू र विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन हुने गर्छन्।
बदलिँदो समय र नयाँ पुस्ताको व्यस्तताका बाबजुद आफ्नो मौलिक पहिचान बोकेको झराको राँको बाल्ने संस्कृतिको जगेर्ना र संरक्षण गर्न स्थानीय समुदायले देखाएको तत्परता निकै प्रशंसनीय रहेको यस क्षेत्रका बुढापाकाहरूको भनाइ छ।






डिसी नेपाल





Facebook Comment