पृथ्वी राजमार्ग: चितवनतर्फको पहिरो पन्छाइयो, धादिङतर्फको अवरोधले यातायात ठप्प
चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवन खण्डमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि धादिङतर्फको सडक अझै अवरुद्ध रहेको छ। धादिङ खण्डमा सडक नखुलेका कारण चितवनतर्फ पहिरो सोहोरिए पनि सवारी आवागमन भने सहज हुन सकेको छैन।
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा आज बिहान खसेको पहिरो पन्छाएर बिहान ९:३० बजेदेखि चितवनतर्फको बाटो भने खुलाइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पुन: पहिरो झरेका कारण चितवनतर्फको अवरोध हटे पनि गाडी सञ्चालन हुन नसकेको हो।
धादिङतर्फ बाटो बन्द हुँदा काठमाडौँतर्फ जाने सवारीसाधनहरूलाई चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमै रोकिएको छ। यद्यपि, नारायणगढ-मुग्लिन सडकखण्ड हुँदै पोखरातर्फ आवतजावत गर्ने गाडीहरू भने बिहानैदेखि निरन्तर सञ्चालनमा रहेका छन्।
पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले गएरातिदेखि नै नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। लामो समयसम्म सवारीसाधन ठप्प हुँदा सडकमा गाडीहरूको लामो लाइन लागेको छ भने यात्रुहरू मारमा परेका छन्।






डिसी नेपाल





Facebook Comment