घरको पिल्लर ढलान गर्दा खाली प्लास्टिकका बोतलको प्रयोग किन गरिँदैछ ?
काठमाडौँ । आजकल घर वा भवन निर्माणका क्रममा डकर्मी (राजमिस्त्री) हरूले पिल्लर ढलान गर्दा बीच-बीचमा प्लास्टिकका खाली बोतलहरू राख्ने गरेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ। बिस्तारै यो एउटा नयाँ प्रविधि र ‘ट्रेन्ड’ का रूपमा विकसित भइरहेको छ।
आखिर पिल्लर ढलान गर्दा डकर्मीहरूले किन प्लास्टिकका खाली बोतलहरू प्रयोग गर्छन्? यसरी बोतल राख्नुको पछाडिको मुख्य प्राविधिक कारण र यसका फाइदाहरूबारे तल विस्तारमा चर्चा गरिएको छ ।
१. कङ्क्रीटको जगलाई बलियो बनाउने ‘हुक’ वा साँचोको निर्माण
भवन निर्माणका क्रममा धेरै अग्ला पिल्लर वा खम्बाहरू बनाउँदा तिनलाई एकै पटकमा पूरै ढलान गर्न असम्भव हुन्छ। त्यसैले पिल्लरको ढलान विभिन्न चरणहरूमा गरिन्छ।
पहिलो चरणको ढलान गर्दा माथिल्लो भागको बीचमा प्लास्टिकको खाली बोतल राखिन्छ। जब कङ्क्रीट सुक्छ, तब सो बोतललाई बाहिर निकालिन्छ। यसले गर्दा ढलान गरिएको पिल्लरको माथिल्लो भागमा एउटा सानो र गहिरो खाडल बन्दछ।
जब दोस्रो वा अर्को चरणको ढलान सुरु गरिन्छ, नयाँ कङ्क्रीट सो खाडलभित्र सजिलै छिर्छ। सुकेपछि यो नयाँ कङ्क्रीटले तलको पुराको कंक्रिटसँग जोडिएर एउटा आन्तरिक ‘हुक’ वा लकको रूपमा काम गर्छ।
यस प्रक्रियाले गर्दा पुरानो र नयाँ कङ्क्रीट एकआपसमा अत्यधिक बलियो गरी जोडिन्छन् र पिल्लरको जोड्ने बिन्दु कमजोर हुन पाउँदैन।
२. विद्युत् तथा खानेपानीका पाइपहरू राख्नका लागि
पिल्लरमा प्लास्टिकका बोतल प्रयोग गरिनुको अर्को मुख्य कारण पिल्लरभित्रैबाट विद्युत् वा खानेपानी र ढलका पाइपहरू लैजानका लागि ठाउँ छोड्नु हो।
यदि पिल्लर पूरै सुकिसकेपछि पाइप राख्नका लागि पिल्लर फुटाइयो वा ड्रिल गरियो भने यसले पिल्लरको संरचनात्मक क्षमतामा गम्भीर क्षति पुर्याउन सक्छ। ढलानकै समयमा प्लास्टिकका बोतलहरू राखिदिँदा पछि पाइप लैजाने बाटो सजिलै तयार हुन्छ र पिल्लर फुटाउनुपर्ने बाध्यता रहँदैन।
भवन निर्माणका क्रममा पिल्लरमा प्लास्टिकको बोतल प्रयोग गर्नु केवल कुनै साधारण उपाय वा जुगाड मात्र नभई, कङ्क्रीटको जोडलाई मजबुत बनाउने र भविष्यमा संरचनालाई क्षति नपुर्याई पाइपलाइन विस्तार गर्ने एउटा उपयोगी निर्माण प्रविधि हो। यही प्राविधिक फाइदाका कारण आजकल निर्माण क्षेत्रमा यो तरिका तीव्र रूपमा प्रयोग भइरहेको छ।






डिसी नेपाल





Facebook Comment