प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने

डिसी नेपाल
५ साउन २०८३ १३:३२

काठमाडौं। संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ आगामी साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले आयोगका दुई आयुक्त पदका लागि सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ साउन १३ गते बिहान ११:१५ बजे गर्ने गरी कार्यतालिका तय गरेको हो।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित पदाधिकारीहरूविरुद्ध एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको छ। ती उजुरी तथा कार्ययोजना सम्बन्धी कागजातहरू अध्ययनका लागि समिति सदस्यहरूलाई इमेलमार्फत उपलब्ध गराइने र आवश्यक परे उजुरीकर्तासँग समेत छलफल गरी सुनुवाइ प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।

यसअघि गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरेको थियो। मोरङ निवासी कार्की सरकारी वकिलबाट सेवा प्रवेश गरी न्यायिक तथा न्याय प्रशासन क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रशासक हुन्।

त्यसैगरी परिषद्ले निर्वाचन आयुक्त पदमा काठमाडौंका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरुप्रसाद वाग्लेलाई सिफारिस गरेको छ। प्रस्तावित आयुक्त डा. सुब्बा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) एवं सूचना प्रविधि विशेषज्ञ हुन् भने वाग्ले निर्वाचन आयोगका पूर्व उपन्यायाधिवक्ता हुन्।

नेपालको संविधानको धारा २९२ मा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिअघि संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट उनीहरूलाई नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *