प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ७१ लाख बिगो माग

डिसी नेपाल
५ साउन २०८३ १८:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको छ।

ठेक्का प्रक्रियामा सेटिङ गरेबापत ठेकेदारबाट करोडौँ रुपैयाँ घुस लिएको र उक्त अवैध रकम लुकाएको अभियोगमा अख्तियारले उनलाई प्रतिवादी बनाएको हो।

अनुसन्धानका क्रममा अधिकारीले क्यानको महानिर्देशक रहेका बेला विभिन्न ठेक्का स्वीकृत गर्न, रेखदेख गर्न र भुक्तानी दिनका लागि गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको खुलेको छ।

घुसबापत प्राप्त अवैध रकम लुकाउन अधिकारीले ललितपुर महानगरपालिका-५ मा श्रीमतीको नाममा जग्गा खरिद गरेको पाइएको छ। उनले सो जग्गा खरिद गर्दा सरकारी लिखतमा जम्मा ९१ लाख रुपैयाँ मात्र मूल्य कायम गरी वास्तविक कारोबारको रकम लुकाएका थिए।

अवैध स्रोतबाट आएको रकमलाई वैध देखाउन सरकारी लिखत सच्याउने र बैंक खातामार्फत अस्वाभाविक कारोबार गर्ने कार्य गरी सम्पत्ति शुद्धीकरण कसुर समेत गरेको अख्तियारको ठहर छ।

अख्तियारले अधिकारी र निर्माण व्यवसायी प्रेमप्रकाश ढकाल दुवैलाई प्रतिवादी बनाउँदै अधिकारीसँग दुवै मुद्दामा १ करोड ७१ लाख रुपैयाँका दरले बिगो कायम गरी सोहीबराबरको जरिवाना र कैद सजायको माग गरेको छ। साथै, घुस रकमबाट खरिद गरिएको ललितपुरस्थित जग्गासमेत जफत गर्न मागदाबी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *