मनसुनको कहर : देशभरका ११ सडक ठप्प, रात्रिकालीन यात्रामा रोक

डिसी नेपाल
५ साउन २०८३ २२:२८

काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको छ।

नेपाल प्रहरीले जारी गरेको अद्यावधिक विवरण अनुसार विभिन्न प्रदेशका ११ वटा सडक खण्डहरू पहिरोका कारण पूर्ण रूपमा ठप्प भएका छन् भने बाढीपहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै मुख्य मार्गहरूमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

रात्रिकालीन यातायातमा रोक लगाइएका मुख्य मार्गहरू अन्तर्गत काभ्रे र सिन्धुली जोड्ने विपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ भने यस खण्डमा बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म मात्र यातायात खुला रहनेछ।

त्यस्तै, कान्ति लोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध सडकहरूमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक, गोरखाको धार्चे गाउँपालिका–७ लिदिस्थित आरुघाट–माछीखोला सडक खण्ड, र सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र भोटेकोशी–२ कोदारीस्थित ईकु पहिरो क्षेत्र रहेका छन्।

यसैगरी, बागलुङको कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगर खण्ड, जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ बगर (भेरी करिडोर), र खोटाङको मध्य पहाडी लोकमार्गअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माम्खा खण्ड पनि पूर्ण रूपमा बन्द छन्।

यसैबीच, इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण अवरुद्ध भए पनि हाल वैकल्पिक बाटो प्रयोग गरी यातायात सञ्चालनमा ल्याइएको छ। भोजपुरको मध्य पहाडी लोकमार्ग (बोखिम) र रसुवाको पासाङ ल्हामु सडक खण्ड (बोकेझुण्डा) भने हाल एकतर्फी रूपमा मात्र सुचारु रहेका छन्। अप्रिय घटना हुन नदिन र सुरक्षित यात्राका लागि प्रहरीले नागरिकहरूलाई यात्रा गर्नुपूर्व सडकको अवस्थाबारे जानकारी लिन र उच्च सावधानी अपनाउन अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *