श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने
काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दर्ता गराएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको १ घण्टाभित्रै अनिवार्य रूपमा सम्बोधन गर्नुपर्ने गरी कडा निर्देशन जारी गरेको छ।
विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई औपचारिक परिपत्र जारी गर्दै यो ताकेता गरेको हो।
विगतमा हेलो सरकार, श्रम मन्त्रालय वा विभागमार्फत प्राप्त भएका तथा सिधै कार्यालयमा पेस गरिएका उजुरीहरू समयमै फछ्र्योट नभएको, कर्मचारीहरूले सेवाग्राहीप्रति उचित व्यवहार नगरेको र न्याय सम्पादनमा अनावश्यक ढिलाइ गरेको भन्दै श्रम मन्त्रीसमक्ष निरन्तर गुनासो पुगेपछि विभागले यस्तो कडाइ गरेको हो।
नयाँ निर्देशन अनुसार श्रमिकका उजुरी वा निवेदन प्राप्त हुनासाथ १ घण्टाभित्रै प्राथमिक सम्बोधन गरी त्यसको स्थितिबारे सम्बन्धित सेवाग्राहीलाई तत्काल जानकारी गराउनुपर्नेछ। यदि कुनै उजुरी वा विषय आफ्नो कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने भएमा, सोको कारणसहितको जानकारी सेवाग्राहीलाई दिएर तत्काल सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, श्रमिकका उजुरीउपर सम्बन्धित प्रतिष्ठान वा उद्योगबाट समयमै प्रतिक्रिया माग्ने, श्रम कानुन अनुसार दुवै पक्षबिच मध्यस्थता र वार्ता गराउने तथा वार्ताबाट सहमति हुन नसकेमा कार्यालयले कानुनबमोजिम यथाशीघ्र निर्णय दिनुपर्नेछ। श्रम अदालत र श्रम कार्यालयहरूबाट भएका आदेश वा निर्णयहरूको कार्यान्वयनसमेत समयमै सुनिश्चित गर्न भनिएको छ।
विभागले हेलो सरकारबाट प्राप्त हुने गुनासोहरू सम्बोधन भइसकेपछि सोको प्रगति विवरण प्रणालीमा यथाशीघ्र अद्यावधिक गर्नसमेत मातहतका निकायलाई निर्देशित गरेको छ।
साथै, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम सरकारी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र आचरणको अनिवार्य पालना गर्नुपर्ने स्पष्ट पारिएको छ।






डिसी नेपाल





Facebook Comment