नतिजामुखी भएर काम गर्न कर्मचारीहरूलाई सञ्चारमन्त्रीको कडा निर्देशन, एकैदिनमा फाइल टुंग्याउनुपर्ने
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्दै व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्न कडा निर्देशन दिएका छन्।
सञ्चार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा मन्त्री डा. तिमिल्सिनाले मन्त्रालयस्तरबाटै निर्णय हुन सक्ने फाइलहरू एकैदिनमा टुङ्ग्याउने र अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइलहरूलाई बढीमा पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिए।
दैनिक कार्यसम्पादन समीक्षा, नियमित अनुगमन र कार्यसम्पादन सम्झौताका आधारमा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन र लापरबाही गर्नेलाई कारबाही गर्ने परिपाटीलाई संस्थागत गरिनुपर्ने बताए।
सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउँदै कानुन निर्माण तथा बजेट कार्यान्वयनलाई ठोस नतिजासँग जोड्न उनले ताकेता गरे।
सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूची कार्यान्वयनमा मन्त्रालयले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै सञ्चारमन्त्रीले अब त्यसलाई निरन्तर सुधार र परिणामसँग जोड्नुपर्ने खाँचो औँल्याए। प्रत्येक शाखाले बिहान कार्ययोजना तयार गरी साँझ समीक्षा गर्ने अभ्यास सुरु गर्न तथा फाइल कुन निकाय वा अधिकारीकहाँ रोकिएको छ भन्ने स्पष्ट जानकारी दिने ट्र्याकिङ प्रणाली विकास गर्न पनि उनले निर्देशन दिए।
ढिलासुस्ती र जिम्मेवारी पन्छाउने प्रवृत्तिको कडा आलोचना गर्दै मन्त्री डा. तिमिल्सिनाले कानुनविपरीत काम गर्न कुनै दबाब आएमा सिधै आफूलाई जानकारी गराउन आग्रह गरे।
चालु आवभित्रै छ वटा विधेयक संघीय संसद्मा पेस गर्ने लक्ष्य लिइएको जानकारी दिँदै उनले अर्थ र कानुन मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति पाइसकेको आमसञ्चार विधेयक अघि बढिसकेको र मिडिया काउन्सिल विधेयकको छलफल तत्काल सुरु गर्नुपर्ने बताए।
कार्यक्रममा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले गत आवमा पुँजीगत खर्च अपेक्षाकृत कमजोर रहेकाले चालु आवमा लक्ष्यअनुसार बजेट कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाइन्।
सहसचिव उदयबहादुर रानामगरले मन्त्रालयमा प्राप्त हुने फाइलहरूलाई ‘अत्यावश्यक’, ‘जरुरी’ र ‘सामान्य’ गरी वर्गीकरण गरेर तोकिएको समयभित्रै काम टुङ्ग्याउने र फाइलको स्थिति देखाउने ‘रिपोर्ट कार्ड’ प्रणाली लागू गरिने जानकारी दिनुभयो। अर्का सहसचिव अनिलकुमार दत्तले वरिष्ठ व्यवस्थापन समूहको बैठक नियमित सञ्चालन गर्दै कर्मचारीहरूलाई थप जिम्मेवार बनाइने बताए।
चालु आव २०८३/८४ को कार्ययोजना, बजेट कार्यान्वयन, कानुन निर्माण र प्रशासनिक सुधारका विषयमा केन्द्रित सो बैठकमा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।






डिसी नेपाल





Facebook Comment