सांसद शाहको पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

डिसी नेपाल
६ साउन २०८३ १५:३०

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा सो आदेश जारी गरेको हो। कांग्रेस सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले यस प्रकरणमा विपक्षीहरूका नाममा लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। सर्वोच्च अदालतमा दुवै पक्षबीच छलफल नहुञ्जेलसम्मका लागि मात्र यो अल्पकालीन अन्तरिम आदेश जारी भएको अदालतले जनाएको छ।

यसअघि कपिलवस्तु जिल्ला अदालतले ज्यान मार्ने उद्योगको आरोपमा अनुसन्धान अघि बढाउन सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मालाई कुटपिट गरी ज्यान लिने प्रयास गरेको आरोप लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *