पलाँता गाउँपालिका

तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

डिसी नेपाल
६ साउन २०८३ १७:२९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माणका नाममा भएको सरकारी रकम हिनामिनाको घटनामा तत्कालीन उपाध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालित ‘बेल्केढुङ्गा–लेखनवाडा–दुर्सी–पागोटी सडक निर्माण योजना’ मा वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन देखाई भ्रष्टाचार गरिएको आयोगले जनाएको छ।

कुल ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उक्त योजनामा १ हजार २०० घनमिटर ग्याभिन भर्ने काम भएको भनी झुटो नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको थियो। सोही आधारमा उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी दिइएको थियो।

तर, अख्तियारको प्राविधिक टोलीले गरेको स्थलगत नापजाँचका क्रममा फिल्डमा जम्मा ९३९.५० घनमिटर मात्र काम भएको भेटिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। फिल्डमा हुनुपर्नेभन्दा २६०.५० घनमिटर काम कम भएको पाइएको र सोहीअनुसार बढी भुक्तानी दिँदा नेपाल सरकारलाई ८ लाख ८ हजार ६ सय ८० रुपैयाँ ५७ पैसा हानि–नोक्सानी पुगेको आयोगको ठहर छ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, तथा सब–इन्जिनियरद्वय विनोद कुमार बम र नन्दबहादुर सिंहविरुद्ध बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।

यसैगरी, गलत प्रतिवेदनमा सहमति जनाउने तत्कालीन उपाध्यक्ष दाना न्यौपाने र वडा नम्बर ९ का वडा अध्यक्ष टक्क बहादुर बमविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय माग गरिएको छ। साथै, योजनाको उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बम, कोषाध्यक्ष सुलाक्षिना बम र सचिव कमल बहादुर बमविरुद्ध मुख्य अभियुक्तसरह सजाय र बिगो असुलउपर गर्न माग दाबी लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *