काठमाडौं उपत्यकामा जग्गाको नयाँ सरकारी मूल्य निर्धारण: न्युरोड, दरबारमार्ग र माइतीघर क्षेत्र सबैभन्दा महँगो

डिसी नेपाल
६ साउन २०८३ १८:१३

काठमाडौं। भूमि व्यवस्था तथा अभिलेख विभाग अन्तर्गतका मालपोत कार्यालयहरूले नयाँ आर्थिक वर्ष २०८३/८४ का लागि देशैभरिका जग्गाको न्यूनतम मूल्यांकन अर्थात् सरकारी मूल्य सार्वजनिक गरेका छन्।

मालपोत कार्यालयहरूले जग्गाको प्रयोजन र बाटोको पहुँचका आधारमा गत आर्थिक वर्षको तुलनामा अधिकतम १० प्रतिशतसम्म मूल्य वृद्धि गरी नयाँ दर कायम गरेका हुन्। नयाँ दररेट अनुसार काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक तथा प्रशासनिक क्षेत्रका जग्गाहरूको मूल्य सबैभन्दा बढी तोकिएको छ भने भक्तपुर तथा उपत्यका बाहिरका अधिकांश स्थानमा गत वर्षकै मूल्यांकनलाई निरन्तरता दिइएको छ।

काठमाडौँका मुख्य प्रशासनिक तथा व्यापारिक केन्द्रहरूमा जग्गाको सरकारी मूल्य सर्वाधिक कायम गरिएको छ। माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ, जमल, दरबारमार्ग, कमलादी, केशरमहल, ठमेल, क्षेत्रपाटी, हनुमानढोका, इन्द्रचोक, असन, रत्नपार्क, पुरानो बसपार्क र सहिद गेट क्षेत्रका मूलबाटोसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रूपैयाँ तोकिएको छ। गत वर्ष यी क्षेत्रको मूल्य प्रतिआना ७२ लाख ६० हजार रूपैयाँ रहेको थियो।

डिल्लीबजार मालपोत कार्यालय अन्तर्गत पुतलीसडक आसपासका जग्गाको मूल्य प्रतिआना ५६ लाख रुपैयाँ कायम गरिएको छ, जुन गत वर्ष ५३ लाख २४ हजार रुपैयाँ थियो। यस क्षेत्रका कच्ची तथा गोरेटो बाटोले छोएका जग्गाको मूल्य भने प्रतिआना २२ लाखदेखि ३७ लाख रुपैयाँसम्म तोकिएको छ भने डिल्लीबजार मालपोत क्षेत्रभित्र न्यूनतम मूल्य प्रतिआना ११ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, चाबहिल मालपोत क्षेत्र अन्तर्गत गौशालादेखि धोबीखोलासम्मको चक्रपथसँग जोडिएका जग्गाको मूल्य प्रतिआना ६२ लाख ७० हजार रुपैयाँ पुगेको छ, जुन गत वर्ष ५७ लाख रुपैयाँ तोकिएको थियो। समग्रमा चाबहिल मालपोत अन्तर्गतका जग्गाको मूल्य प्रतिआना ७० हजारदेखि ५ लाख रुपैयाँसम्म बढेको छ।

कलङ्की मालपोत क्षेत्रमा बल्खुदेखि वनस्थलीसम्म चक्रपथसँग जोडिएका जग्गाको मूल्य प्रतिआना ४७ लाखबाट बढाएर ४९ लाख ३५ हजार रुपैयाँ पुर्‍याइएको छ भने कालीमाटी र विष्णुमती खोला क्षेत्रका जग्गाको मूल्य प्रतिआना २३ लाखदेखि ४३ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ।

काठमाडौँ जिल्लाभित्र बाटो नपुगेका जग्गाको मूल्य प्रतिआना १ लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको छ। गोकर्णेश्वर नगरपालिकाको साविक बालुवा गाविसमा बाटोले नछोएको जग्गाको मूल्य प्रतिआना १ लाख ४३ हजार रुपैयाँ तथा कीर्तिपुर चक्रपथ र बल्खु खोला लगायतका बाटो नपुगेका केही क्षेत्रमा १ लाख ६५ हजार रुपैयाँ कायम गरिएको छ।

काठमाडौँमा मूल्य वृद्धि गरिए पनि भक्तपुर जिल्लाका मालपोत कार्यालयहरूले भने चालु आर्थिक वर्षका लागि जग्गाको मूल्यांकनमा कुनै परिवर्तन गरेका छैनन्। कटुन्जेस्थित अरनिको राजमार्ग आसपासका जग्गाको प्रतिआना मूल्य ४० लाख रुपैयाँ र कौशलटार-बालकोट क्षेत्रको मूल्य प्रतिआना २१ लाख ६५ हजार रुपैयाँ नै यथावत् राखिएको छ।

चितवनको भरतपुर महानगरपालिका लगायत उपत्यका बाहिरका अधिकांश प्रमुख शहरहरूमा पनि गत आर्थिक वर्षकै मूल्यांकनलाई निरन्तरता दिइएको छ। मालपोत कार्यालयहरूले निर्धारण गरेको यो मूल्य सरकारी कर तथा रजिस्ट्रेसन शुल्क प्रयोजनका लागि मात्रै आधारित हुने र वास्तविक बजारमा भने घरजग्गाको किनबेच सोभन्दा निकै बढी मूल्यमा हुने गरेको व्यवसायीहरू बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *