नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी

डिसी नेपाल
७ साउन २०८३ ७:२०

चितवन। नेपालका विभिन्न भागमा फैलिएको पन्छीजन्य रोग ‘बर्डफ्लु’को संक्रमण नियन्त्रणमा आउन थालेको छ। काठमाडौं उपत्यकालगायत देशका ११ जिल्लामा फैलिएको यो संक्रमण साउन १ गतेदेखि थप ठाउँमा नदेखिएको पशु सेवा विभागले जनाएको छ।

पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर-१ सुन्दरीजलमा संक्रमण पुष्टि भएयता नयाँ क्षेत्रमा रोग नफैलिएको र हाल प्रभावित क्षेत्र वरपरका नमुना संकलन गरी परीक्षण जारी राखिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिए।

विभागको तथ्यांक अनुसार गत चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट पहिलोपटक मोरङको उर्लाबारी र सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि भएको थियो। त्यसलगत्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरी नियन्त्रणको प्रयास थालेको थियो।

संक्रमणबाट विशेष गरी व्यावसायिक लेयर्स कुखुरा बढी प्रभावित भएका थिए भने ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत रोग फैलिएको थियो। काठमाडौं उपत्यका बाहेकका अन्य सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा गरी ११९ ठाउँमा संक्रमण पुष्टि भएको थियो।

महामारी नियन्त्रणका क्रममा विभागले देशभर हालसम्म आठ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजारभन्दा बढी अण्डा र दुई लाख ४५ हजार किलोभन्दा बढी दाना नष्ट गरेको वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले बताए।

जसमध्ये काठमाडौं उपत्यका र काभ्रेमा मात्रै साढे तीन लाखभन्दा बढी पन्छी नष्ट गरिएको थियो। क्षति व्यहोरेका किसानलाई राहत दिन सरकारले ५२ करोड रुपैयाँ बजेट व्यवस्थापन गरी हालसम्म १०४ जना कृषक तथा फार्मको खातामा ५० करोड ७१ लाख १५ हजार रुपैयाँभन्दा बढी राहत रकम निकासा गरिसकेको छ।

सरकारी तदारुकता र किसानको सहयोगका कारण संक्रमण नियन्त्रण उन्मुख बनेपछि पन्छीजन्य उत्पादनको जोखिम कम भएको छ। संक्रमण घटेसँगै बजारमा कुखुराको मासु र अण्डाको खपत पुनः बढ्न थालेको छ, जसका कारण ओरालो लागेको मूल्य सुधार भई प्रभावित किसानहरूले राहतको महसुस गर्न थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *