शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने ५ जना पक्राउ

डिसी नेपाल
७ साउन २०८३ १२:४८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल बिहीबार कीर्तिपुरस्थित कार्यक्रमस्थल पुगेका थिए। सोही क्रममा कार्यक्रमस्थल बाहिर जम्मा भएका युवाहरूको समूहले मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

विश्वविद्यालय परिसरमा नाराबाजी र विरोध प्रदर्शनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनका क्रममा युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ ‘मेरिटोक्रेसी लागू गर’ विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था खारेज गर जस्ता नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

प्रहरीले स्थिति थप अशान्त हुन नदिन र सुरक्षा व्यवस्था सहज बनाउनका लागि प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। शिक्षामन्त्री पोखरेल त्रिभुवन विश्वविद्यालयको सहकुलपतिका रूपमा वार्षिक दिवस समारोह तथा सभाको बैठकलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए। तर उनी कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रममै युवा तथा विद्यार्थी समूहले विरोध सुरु गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *