स्ट्रेट अफ हर्मुजमा तीन तेल ट्यांकर इरानी नियन्त्रणमा, अमेरिकी प्रहारपछि तनाव थप उत्कर्षमा
तेहरान। स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकरलाई इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिने क्रममा तीमध्ये एउटा ट्यांकरमा विस्फोट भई आगलागी भएको इरानी पक्षले जनाएको छ।
अमेरिकी सेनाको उक्साहट र प्रलोभनमा परेर दक्षिणतर्फको मार्ग हुँदै जबर्जस्ती अघि बढ्न खोजेपछि ती ट्यांकरलाई रोकिएको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। इरानको पूर्वसहमति बिना जलमार्ग प्रयोग गर्न खोज्ने जुनसुकै जहाजले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै इरानले अमेरिकाले सम्झौता विपरीत धोका दिएको आरोप लगाएको छ।
यसैबीच, अमेरिकी सेनाले इरानका विभिन्न रणनीतिक स्थलहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी क्षेप्यास्त्रहरूले पश्चिमी इरानका अहवाज, रामसिर र एन्डिमेस्क सहरहरूसँगै दक्षिणी इरानस्थित बुशेहर आणविक ऊर्जा संयन्त्र नजिकैको पावर स्टेसनलाई निशाना बनाएका छन्। यस्तै, इराकी सिमानामा रहेको शालमचेह सहरमा भएको अमेरिकी प्रहारमा दुई जनाको मृत्यु भएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले यस आक्रमणको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय जलमार्गमा व्यावसायिक जहाज र नागरिक नाविकहरूलाई धम्क्याउने इरानी क्षमतालाई कमजोर तुल्याउनु रहेको स्पष्ट पारेको छ। हाल सो महत्त्वपूर्ण जलमार्गको नियन्त्रणलाई लिएर दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै संयुक्त राज्य अमेरिकाले इरानका पुल तथा पावर प्लान्टहरू बम विस्फोट गराएर नष्ट गरिदिने चेतावनी दिएका छन्।
अमेरिकी कदमको कडा प्रतिवाद गर्दै इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इरानले आत्मरक्षाको सिद्धान्त अपनाउने स्पष्ट पारेका छन्। उनले आफ्नो देशका पूर्वाधार वा भूभागमाथि हुने जुनसुकै आक्रमणको इरानले शक्तिशाली र निर्णायक जवाफ दिने चेतावनी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment