वेदिका केसी पक्राउ

डिसी नेपाल
७ साउन २०८३ १६:५४

काठमाडाैं। सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार उनलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरिका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैल्याएको, गम्भीर गाली बेइज्जती गरेको र चरित्रहत्या गर्न खोजेको उजुरी परेपछि थप अनुसन्धानका लागि केसीलाई हिरासतमा राखिएको छ।

उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्ताहरूमा सनातन धर्मभित्र रहेका विकृति, अन्धविश्वास, नक्कली धामी-झाँक्री तथा ‘माता’ भनिनेहरू विरुद्ध आवाज उठाउँदै आएको दाबी गर्ने वेदिका र कथावाचिका राधिका दासीबिच केही समयदेखि आरोप-प्रत्यारोप चलिरहेको थियो।

राधिका दासीको धार्मिक गतिविधि, व्यक्तिगत जीवन र महायज्ञहरूसँग जोडिएका विषयमा प्रश्न उठाउँदै आएकी वेदिकामाथि सीमाभन्दा बाहिर गएर भ्रामक प्रचारप्रसार गरेको आरोप लागेपछि यो मुद्दा प्रहरीसमक्ष पुगेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *