बीपीको दूरदृष्टिकै कारण कांग्रेसको चुनाव चिह्न ‘रुख’ छानिएको हो: उपसभापति शर्मा

डिसी नेपाल
७ साउन २०८३ १७:१६

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आन्तरिक आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँस्थित राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै उपसभापति शर्माले आन्तरिक खिचातानीमा समय खर्चिँदा पार्टी आफ्नो मुख्य गन्तव्यबाट विचलित हुने बताए।

कसैले कतै भेला भएर पार्टीको धेरै आलोचना गरे भन्दैमा त्यतातर्फ ध्यान मोड्नुको सट्टा बीपीको पुण्यतिथिमा उहाँकै विचार र संस्कारको चर्चा गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजाने संकल्प लिनुपर्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा शर्माले जलवायु परिवर्तनलाई वर्तमान विश्वकै सबैभन्दा गम्भीर चुनौतीका रूपमा औँल्याउँदै नेपाल पनि यसको प्रत्यक्ष असरबाट अछुतो नरहेको बताए। दुई वर्षअघि असारको सुक्खा खडेरी लगत्तै असोज १२ गते काठमाडौँमा आएको विनाशकारी बाढी, भारतको टिस्टा क्षेत्रको बाढी तथा साउदी अरेबियामा हज यात्राका क्रममा अत्यधिक तापक्रमका कारण सयौँ तीर्थयात्रीको ज्यान गएको घटना स्मरण गराउँदै उनले जलवायु संकटको जोखिमबारे सचेत गराए। इसिमोडको प्रतिवेदन उद्धृत गर्दै उनले नेपालका ४७ वटा हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने जोखिममा रहेको तथ्यसमेत प्रस्तुत गरे।

उपसभापति शर्माले कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ केवल दौड प्रतियोगिता मात्र नभई समाजलाई वातावरण र जलवायु परिवर्तनप्रति सचेत गराउने राष्ट्रिय अभियान भएको स्पष्ट पारे।

पृथ्वीको रक्षा गर्न सबैभन्दा पहिले नेपालका हिमाल जोगाउनुपर्ने अपिल गर्दै उनले यस विषयमा आम नागरिकलाई शिक्षित बनाउनु अपरिहार्य भइसकेको बताए। बीपी कोइरालाले उतिबेलै वातावरण संरक्षणको महत्त्व बुझेर निजी वनको राष्ट्रियकरण गरेको र पछि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ती वन समुदायलाई हस्तान्तरण गरेपछि नेपाल विश्वमै सामुदायिक वन व्यवस्थापनको अनुकरणीय उदाहरण बनेको प्रसङ्ग पनि उनले उल्लेख गरे।

बीपीले उतिबेलै जलवायु संकट र रुखको महत्त्वबारे दूरदृष्टि राखेकाले नै कांग्रेसको चुनाव चिह्न ‘रुख’ चयन गरिएको धारणा शर्माले व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *