निर्मल पुर्जाद्वारा ५७औं पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण
काठमाडौं। विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले आठ हजार मिटरभन्दा अग्ला हिमालको ५७औँ सफल आरोहण गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।
पाकिस्तानमा रहेको गासेरब्रुम-२ (८,०३४ मिटर) हिमालको सफल आरोहण गरेसँगै उनले यो अभूतपूर्व सफलता हासिल गरेका हुन्। उनले आफ्ना ५७ वटा आरोहणमध्ये २९ वटा आरोहण पूरै पूरक अक्सिजन बिना नै सम्पन्न गरेर उच्च हिमाली क्षेत्रमा आफ्नो अद्भूत क्षमता प्रदर्शन गरेका छन्।
यस सफलतासँगै पुर्जा आफ्नो बहुप्रतिक्षित र अति महत्त्वाकांक्षी ‘ह्याट्रिक प्रोजेक्ट’ को निकै नजिक पुगेका छन्। यस प्रोजेक्ट अन्तर्गत विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरूलाई तीन-तीन पटक (14 Peaks X 3) तथा सातै महादेशका सर्वोच्च शिखरहरू (Seven Summits) लाई पनि तीन-तीन पटक सफलतापूर्वक आरोहण गर्ने लक्ष्य राखिएको छ।
अहिले यो ऐतिहासिक ‘ह्याट्रिक’ पूरा गर्नका लागि उनलाई केवल चो ओयु हिमालको आरोहण मात्र बाँकी रहेको छ।
पूर्वब्रिटिस गोर्खा तथा स्पेसल बोट सर्भिसका भूतपूर्व सैनिक पुर्जाले सन् २०१९ मा सात महिनाभन्दा कम समयमा विश्वका १४ वटै सर्वोच्च शिखरहरूको आरोहण गरेर विश्वकीर्तिमान बनाएका थिए। उक्त सफलतामा आधारित रहेर ‘१४ पिक्स: नथिङ इज इम्पसिबल’ नामक चर्चित डकुमेन्ट्रीसमेत बनेको थियो।
आफ्नो ‘निम्सदाइ फाउन्डेसन’ मार्फत परोपकारी कार्यका लागि सहयोग जुटाउने उद्देश्यले सञ्चालित यो ‘ह्याट्रिक प्रोजेक्ट’ पूरा भएमा पर्वतारोहणको इतिहासमा यो अर्को अभूतपूर्व र दुर्लभ विश्वकीर्तिमान बन्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment