विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपाल शीर्ष चारको दौडमा थप पछाडि

डिसी नेपाल
८ साउन २०८३ ७:५४

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएसँगै नेपालको शीर्ष चारभित्र पर्दै सोझै विश्वकप छनोटमा पुग्ने सम्भावना थप कमजोर बनेको छ। लगातार दुई खेलमा समान १ सय ५७ रनमै समेटिएको नेपाली टोली ब्याटिङ र बलिङ दुवै क्षेत्रमा निस्तेज देखिएको हो।

बिहीबार सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५७ रन मात्र बनाउन सक्यो। टोलीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० र गुल्सनकुमार झाले २० रन जोडे।

यस्तै करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रनको योगदान दिए पनि कुनै पनि ब्याटरले ठूलो र जिम्मेवारीपूर्ण इनिङ्स खेल्न सकेनन्। सुरुआत पाएर पनि त्यसलाई ठूलो स्कोरमा बदल्न नसक्दा र मध्यक्रम लगातार धराशायी बन्दा नेपालले फराकिलो योगफल तयार पार्न सकेन।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १ सय ५८ रनको लक्ष्य ४४.१ ओभरमा ४ विकेट गुमाएर सहजै भेट्टायो। कप्तान स्कट इडवार्डसले सम्हालिएको इनिङ्स खेल्दै टोलीको जित सुनिश्चित गरे। नेपाली बलरहरूले सुरुआती सफलता दिलाउन नसक्दा र फिल्डिङमा समेत चुकेपछि डच टोलीले पुरै खेलभरि आफ्नो दबाब कायम राखेको थियो।

नेपाल यसअघि मंगलबार भएको खेलमा पनि नामिबियाविरुद्ध १ सय ५७ रनमै अलआउट हुँदै पराजित भएको थियो। उक्त खेलमा नामिबियाले १ सय ५८ रनको लक्ष्य ३७.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो, जसमा कप्तान जान फ्राइलिंकले अविजित ७८ र माइकल भान लिंगनले ५१ रन बनाएका थिए।

लगातारको कमजोर ब्याटिङका कारण नेपाल लिग-२ को अंक तालिकामा पछाडि पर्दै गएको छ। आठ टोली सहभागी प्रतियोगितामा नेपाल ३० खेलबाट २४ अंक जोड्दै पाँचौँ स्थानमा सीमित छ भने जित हासिल गरेको नेदरल्यान्ड्स २९ खेलबाट ३४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। यो हारसँगै नेपालको शीर्ष चारभित्र पर्ने यात्रा थप चुनौतीपूर्ण बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *