रास्वपा सांसदका स्वकीय सचिव अब खुला प्रतिस्पर्धाबाट, नातावाद र भ्रष्टाचारमा शून्य सहनशीलता

डिसी नेपाल
८ साउन २०८३ १०:३३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाएको छ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचना अनुसार स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरिएको छ। सांसदहरूलाई पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिइएको छ।

यस मार्गदर्शन अनुसार नियुक्त स्वकीय सचिवको व्यक्तिगत विवरण र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संघीय संसद् सचिवालयका साथै पार्टीको केन्द्रीय कार्यालयमा समयमै दर्ता गराउनुपर्नेछ।

साथै, सम्बन्धित सांसदले आफ्नो स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्यांकन गरी आवधिक प्रतिवेदन संसदीय दलसमक्ष अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। स्वकीय सचिवले सांसदका कामकारबाही, पार्टीका आन्तरिक सूचना तथा संसद्का संवेदनशील विषयको गोपनीयता पूर्ण रूपमा कायम राख्नुपर्नेछ।

राज्यकोषबाट उपलब्ध गराइने सुविधा जनताको करबाट प्राप्त हुने भएकाले यसको प्रयोगमा सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रदर्शन गर्नुपर्नेमा रास्वपाले जोड दिएको छ।

नातेदार नियुक्ति गर्ने, कागजी रूपमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने वा अन्य कुनै पनि आर्थिक हिनामिना गर्ने कार्यलाई गम्भीर उल्लंघन मानिने र त्यस्ता गतिविधिमा संलग्नमाथि पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत तत्काल कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

स्वकीय सचिवको कार्यसम्पादन सन्तोषजनक नभएमा, पदीय आचरणविपरीत कार्य गरेमा वा गोपनीयता भंग गरेमा सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराई जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

स्वकीय सचिव नियुक्तिको प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन रास्वपाले सार्वजनिक दरखास्त आह्वानका लागि साझा, आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा तयार गर्ने जनाएको छ।

उक्त ढाँचामा आवश्यक योग्यता, कार्यविवरण र आवेदन प्रक्रिया स्पष्ट उल्लेख गरिने हुनाले सबै सांसदहरूले नयाँ स्वकीय सचिव नियुक्त गर्दा अनिवार्य रूपमा सोही ढाँचा प्रयोग गर्नुपर्नेछ।

स्वकीय सचिव व्यवस्थापन तथा नियुक्तिसम्बन्धी कुनै सहयोग वा परामर्श आवश्यक परेमा संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतकसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *