रौतहटका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार, ‘मधेश मुक्ति अभियान’का कार्यकर्ता संलग्न रहेको आशङ्का
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य (सांसद) गणेश पौडेलमाथि बिहीबार राति कालो मसी फ्याकेर दुर्व्यवहार गरिएको छ। गढीमाई नगरपालिका-७, पर्सामा आयोजना गरिएको स्थानीय कार्यक्रम सकेर फर्किने क्रममा उनीमाथि ‘मधेश मुक्ति अभियान’का कार्यकर्ताहरूले कालो मसी दलेका हुन्।
स्थानीय नागरिकका समस्या तथा कृषि क्षेत्रमा देखिएको मलखादको अभाव जस्ता विषयमा छलफल गर्न आयोजना गरिएको ‘जनतासँग भेटघाट कार्यक्रम’ ढिला गरी सकिएपछि राति ८ देखि सवा ८ बजेको बीचमा यो घटना भएको थियो। कार्यक्रम समापन गरी फर्किने तयारीमा रहेका सांसद पौडेललाई पछाडिबाट आएका मास्कधारी व्यक्तिहरूले कालो मसी दलेर भागिसकेका थिए।
फर्किन लागेका बेला चिनजानको मान्छेले अङ्गालो हालेजस्तो गरी पछाडिबाट आएर ढाडमा कालो मसी (कालो पदार्थ) दलेर भागेको बताइएको छ । मसी दल्ने समूहको हातमा रातो झण्डा र पर्चाहरू रहेको तथा उनीहरू ‘मधेश मुक्ति अभियान’सँग सम्बद्ध रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनालगत्तै स्थानीय तथा सहयोगीहरूले आरोपीहरूलाई लखेट्ने प्रयास गरे पनि अँध्यारोको फाइदा उठाउँदै उनीहरू फरार भएका थिए।
घटनापछि तुरुन्तै प्रहरीलाई खबर गरिएको र संलग्नहरूको तीव्र खोजी भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको र ‘फगु’ (वा फुगु) भनिने व्यक्तिको खोजी कार्य जारी रहेको सांसद पौडेलले जानकारी दिए। प्रहरीले आरोपीहरू चाँडै नियन्त्रणमा आउने जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment