इतिहासको असल पक्षको अनुसरण गरेर मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ: राष्ट्रपति पौडेल

डिसी नेपाल
८ साउन २०८३ १२:४४

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वीर पुर्खाको त्याग, बलिदान, साहस र वीरताका कारण नै आज नेपालीहरूले शिर उँचो बनाएर गौरवका साथ उभिन पाएको बताएका छन्।

शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षलाई पछ्याउन सके मात्र वर्तमानप्रति न्याय हुने र त्यसले नै भविष्यको सुनौलो बाटो तय गर्ने धारणा व्यक्त गरे ।

उनले राष्ट्र, राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि पुर्खाले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने बताए। आपसी भाइचारा, सहिष्णुता र एकताको बलमा राष्ट्रिय एकतालाई अझ मजबुत बनाउँदै राष्ट्रप्रेमको आस्थालाई जोगाउनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रपति पौडेलले भने, “हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासलाई तीव्र बनाउन जुटौँ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।”

बहुआयामिक व्यक्तित्वका धनी भीमसेन थापा राष्ट्र र राष्ट्रियताका मुद्दामा कहिल्यै नझुकेको स्मरण गर्दै पौडेलले देशभक्ति नै उनको मूलमन्त्र रहेको उल्लेख गरे। अङ्ग्रेजसँगको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि थापाको दृढ राष्ट्रभक्तिकै अडानका कारण नेपाल सधैँ स्वतन्त्र रहन सफल भएको उनले स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *