आज हरिशयनी एकादशी: घर-घरमा तुलसीको मठ सारिँदै, चतुर्मास व्रत आरम्भ

डिसी नेपाल
९ साउन २०८३ ६:४४

काठमाडौं। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा-आराधना आजदेखि सुरु हुँदैछ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरको तुलसीको मठमा राखिएको बीउ (दल) बाट हुर्किएको बिरुवा आज विधिपूर्वक मठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ। आज रोपिएको तुलसीको कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म विशेष पूजा-आराधना हुनेछ।

क्षीरसागरमा शयन र चतुर्मास

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यस दिनलाई ‘हरिशयनी एकादशी’ भनिएको हो। भगवान् विष्णु शयन गर्ने यो चार महिनाको अवधिमा परिणत हुने समयलाई ‘चतुर्मास’ पनि भनिन्छ।

वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये इच्छा र क्षमता हुनेहरूले सबै एकादशीमा फलाहार गरेर व्रत बस्ने गर्छन्। सबैमा सम्भव नहुनेहरूले चतुर्मासा अवधिभर पर्ने आठ वटा एकादशीमा व्रत बस्ने गर्छन् भने कामकाजमा व्यस्त रहनेहरूले हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन मात्र भए पनि फलाहार गरी व्रत बस्ने परम्परा छ।

नारायण मन्दिरहरूमा भक्तजनको भीड

हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँको प्रसिद्ध बूढानीलकण्ठ, उपत्यकाका चार नारायण (चाङ्गुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायण) लगायत देशभरका विष्णु तथा नारायण मन्दिरहरूमा दर्शनार्थीको ठूलो भीड लागेको छ। एकादशीका दिन अन्न (विशेष गरी चामल) नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने गरिन्छ।

तुलसीको धार्मिक तथा वैज्ञानिक महत्त्व

तुलसी धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक रूपमा पनि अत्यन्त उपयोगी वनस्पति मानिन्छ। प्रशस्त मात्रामा अक्सिजन उत्सर्जन गर्ने तुलसी विभिन्न रोगको उपचारका लागि औषधिका रूपमा प्रयोग हुन्छ। तुलसीको मठ भएको ठाउँमा विषालु कीटाणुहरू नआउने र वरपरको वातावरण शुद्ध रहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ। साथै, वास्तु दोष निवारणका लागि पनि घरमा तुलसीको मठ राख्नु शुभ मानिन्छ।

चार महिनासम्म विधिपूर्वक पूजा-आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् ‘हरिबोधिनी एकादशी’का दिन दामोदरसँग विवाह गरिदिने वैदिक परम्परा छ। तुलसी र दामोदरको विवाहपश्चात् अग्निस्थापना विधिबाट हवन गरी चतुर्मास व्रतको उद्यापन (समापन) गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *