हरिशयनीदेखि हरिबोधनीसम्म: तुलसी, व्रत र विवाहको शास्त्रीय परम्परा

डिसी नेपाल
९ साउन २०८३ ९:०१

हरिशयनी एकादशी हिन्दू धर्मावलम्बीहरूको एक अत्यन्तै महत्त्वपूर्ण पर्व हो। धार्मिक विश्वासअनुसार यसै दिनदेखि भगवान् विष्णु चार महिनाका लागि योगनिद्रामा जान्छन्। यस विशेष अवसरमा घर-घरमा तुलसीको बिरुवा रोप्ने र त्यसको नियमित पूजा-आराधना गर्ने वैदिक परम्परा रहिआएको छ।

यो परम्परा केवल धार्मिक अनुष्ठानमा मात्र सीमित नभई प्रकृतिप्रतिको अगाध सम्मान र संरक्षणको भावनासँग पनि गाँसिएको छ। शास्त्रअनुसार भगवान् विष्णु योगनिद्रामा रहने यो अवधिमा उनको दिव्य शक्ति तुलसीमा आविर्भाव हुने जनविश्वास छ।

हरिशयनी एकादशीका दिन मठमा सारिएको तुलसीलाई चातुर्मासभर श्रद्धापूर्वक पूजा गरिन्छ। तत्पश्चात्, कार्तिक शुक्ल एकादशी अर्थात् ‘हरिबोधनी एकादशी’का दिन भगवान् विष्णु योगनिद्राबाट जागृत हुने भएकाले सोही दिन विधिपूर्वक तुलसीको विवाह सम्पन्न गर्ने शास्त्रीय परम्परा छ।

उपप्राध्यापक डा. नारायणप्रसाद निरौलाले शास्त्रले निर्देश गरेका विधि, कर्म र आचारलाई श्रद्धापूर्वक पालन गर्नु नै धार्मिक परम्पराको मूल मर्म भएको बताए। संक्रान्ति तथा अन्य पुण्यकालमा स्नान, शुद्धता, दान र धार्मिक आचरणको विशेष महत्त्व रहने उनको भनाइ छ।

सामान्यतया आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ। तर, यस वर्ष यो एकादशी साउन महिनामा पर्नुको मुख्य कारण चन्द्रमास र सौरमासबीचको अन्तर तथा परेको अधिकमास (मलमास) रहेको डा. निरौलाले स्पष्ट पारे।

“हाम्रो धार्मिक परम्परामा चन्द्रमास र सौरमास गरी दुई प्रकारका गणना हुन्छन्, जसमध्ये धार्मिक कर्महरूमा चन्द्रमासको प्रयोग बढी हुन्छ,” डा. निरौलाले भने, “यस वर्ष अधिकमास परेकाले चन्द्रमासमा एक अतिरिक्त महिना थपियो। जसले गर्दा तुलसी रोप्ने हरिशयनी एकादशी साउन महिनामा पर्न गएको हो। आगामी वर्ष भने यो पर्व पुनः असार महिनामै पर्नेछ।”

शास्त्रअनुसार मानवको एक वर्ष देवताहरूको एक दिन-रात मानिन्छ। साउन महिनाबाट देवताहरूको रात आरम्भ हुने भएकाले भगवान् विष्णु पनि साक्षात शयन कक्षमा (योगनिद्रामा) जाने मान्यता छ। हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मको चार महिनाको यस अवधिलाई नै ‘चतुर्मास’ भनिन्छ।

“हरिशयनी एकादशीमा तुलसी रोपेर त्यसको सेवा गरिन्छ र हरिबोधनी एकादशीमा विवाह गरिन्छ। यो स्पष्ट रूपमा शास्त्रीय व्यवस्था नै हो,” उपप्राध्यापक डा. निरौलाले थपे।

त्रिदेव (ब्रह्मा, विष्णु र महेश) मध्ये विष्णुलाई सृष्टिको पालनकर्ता मानिने हुनाले पालनकै प्रतीकका रूपमा तुलसी र भगवान् विष्णुबीच गहिरो धार्मिक सम्बन्ध रहेको छ। वर्षभरि पर्ने प्रत्येक एकादशीको आफ्नै विशिष्ट महत्त्व छ—जस्तै कामिका एकादशीलाई मनोकामना पूरा गर्ने एकादशीका रूपमा लिइन्छ। तर, चतुर्मासको अवधिमा पर्ने एकादशीहरूमा व्रत, पूजा र विष्णुको आराधना गर्दा विशेष पुण्यफल प्राप्त हुने धार्मिक विश्वास गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *