नेपाली कला–साहित्य नेपाली समाजको भावना, इतिहास र पहिचान हो : सभामुख अर्याल

डिसी नेपाल
९ साउन २०८३ १६:२०

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताएका छन्।

शनिबार वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्ती तथा ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले गीत, संगीत, साहित्य र कलाले नेपाली जनजीवनका सुख–दुःख, प्रेम–विरह, आशा–आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताए।

उनले भने, ‘गीत, संगीत, साहित्य र कला हाम्रो भावना हो। हाम्रो इतिहास र पहिचान पनि हो। नेपाली जनजीवनका सुख–दुःख, प्रेम–विरह, आशा, आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई गीत, संगीत, कला र साहित्यले अत्यन्त प्रभावकारी भूमिका खेलेको छ। यही समृद्ध परम्परालाई निरन्तरता दिने क्रममा छिन्नलता गीत पुरस्कार गुठीले लामो समयदेखि नेपाली गीत–संगीतका स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ।’

सभामुख अर्यालले छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको संस्था भएको उल्लेख गरे।

उनले भने, ‘छिन्नलता गीत पुरस्कार गुठीको नाम नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको छ। उहाँको योगदानलाई स्मरण गर्दै स्थापना भएको यो पुरस्कारले नेपाली गीत–संगीत क्षेत्रमा निरन्तरता, गुणस्तर र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको छ।’

यस वर्षको छिन्नलता गीत पुरस्कारबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ विशेष सम्मानबाट सम्मानित भएका छन्।

त्यसैगरी, डा. नवराज लम्साल (गीत रचना), किरण कँडेल (संगीत सिर्जना), बिमला राई (गायन) र सारिका घिमिरे (युवा प्रतिभा)बाट सम्मानित तथा पुरस्कृत भएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *