तारकेश्वरमा पार्क गरिएको विद्युतीय कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

डिसी नेपाल
९ साउन २०८३ १७:४१

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला पार्क गरी राखिएको विद्युतीय कारभित्र डढेको अवस्थामा मृत फेला परेकी छिन्। तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै रोकिराखिएको कारभित्र शव फेला परेको हो।

मृतक महिला तारकेश्वर नगरपालिका-९, शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल रहेको प्रहरीले जनाएको छ। पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि नै कसैको सम्पर्कमा थिइनन् र आफन्तहरूले उनको खोजी गरिरहेका थिए।

शनिबार दिउँसो करिब १ बजे BAE 0410 नम्बरको सो विद्युतीय कारको पछाडिको सिटमा रिजालको शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोलीले पुगेर प्राविधिक तथा फरेन्सिक अनुसन्धान सुरु गरिसकेको छ। कारभित्रै विभत्स अवस्थामा शव फेला परेकाले यो दुर्घटना हो वा हत्या/आत्महत्या भन्नेबारे प्रहरीले सबै कोणबाट सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *