बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध
काठमाडौं। लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। वर्षायामभर रातिको समयमा उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ।
त्यसैगरी, कान्ति लोकपथमा पनि अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यता, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नम्बर २ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
यसैबीच, लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा प्रभावित भएको छ। हाल खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
यस्तै, पासाङ ल्हामु सडकखण्डमा पहिरो खसेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक पनि अवरुद्ध भएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडकमा समेत यातायात पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडकहरू खुलाउन सडक विभाग, स्थानीय तह र सम्बन्धित निकायले निरन्तर काम गरिरहेका छन्। वर्षायाममा पहिरो, बाढी र कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment