सुनसरीमा डिजे विवादले हिंसात्मक रूप लिँदा एक जनाको मृत्यु, सुरक्षाकर्मीसहित १६ जना घाइते
सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्ज बजारमा साउने सोमबारको ‘बोलबम’ यात्राका लागि डिजे बजाउने विषयमा उत्पन्न विवादले मध्यरातमा भीषण रूप लिँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। प्रहरीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो।
झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका मेहतालाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार राति उनको निधन भएको सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
साउने सोमबारको बोलबम जल यात्राका लागि रातिको समयमा एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो। सोही क्रममा अर्को समूहले अबेर राति होहल्ला र अत्यधिक आवाजमा बजाइएको डिजेको विरोध गरेपछि दुई पक्षबीच सामान्य भनाभन सुरु भएको थियो। विवाद बढ्दै जाँदा अवस्था नियन्त्रणबाहिर गई दुवै समूहबीच उग्र झडप र भिडन्तको स्थिति बनेको प्रहरीले जनाएको छ।
उत्तेजित बनेको भीडले कप्तानगञ्ज बजार क्षेत्रमा रहेका सर्वसाधारणका घर, मेडिकल, सवारीसाधन तथा अन्य निजी एवं सार्वजनिक संरचनाहरूमा व्यापक तोडफोडका साथै आगजनी गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरे पनि उत्तेजित भीडले तोडफोड र आगजनी नरोकेपछि प्रहरीले बाध्य भएर गोली चलाउनु परेको स्थानीय प्रशासन तथा प्रहरीको भनाइ छ।
घटनामा ८ जना प्रदर्शनकारी र प्रहरीतर्फ ८ जना गरी जम्मा १६ जना घाइते भएका छन्। घाइते प्रदर्शनकारीहरूमध्ये अधिकांशलाई गोली लागेको छ। घाइते हुने प्रदर्शनकारीहरूमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव रहेका छन्, जसको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। त्यसैगरी २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र अर्का २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
उता झडप र ढुंगामुढामा परी प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। टाउकोमा चोट लागेका प्रहरी निरीक्षक राईका साथै प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव घाइते भएका छन्।
झडप र आगजनीपछि कप्तानगञ्ज बजार क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू परिचालन गरिएका छन्। हाल त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनाको निष्पक्ष छानबिन र सम्भावित थप हिंसा रोक्न स्थानीय प्रशासनले अनुगमन तीव्र बनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment