चन्द्रागिरिको तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

डिसी नेपाल
११ साउन २०८३ १४:०९

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान मिनी ट्रक र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार बिहान २:५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गुडिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल रिफर गरिएकोमा दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपाल र स्कुटरको पछाडि सवार चन्द्रागिरि नगरपालिका-१४ की ५६ वर्षीया शुभद्रा कुमारी नेपाल रहेका छन्। चिकित्सकहरूले दीपक नेपाललाई अस्पताल ल्याउनासाथ र शुभद्रा कुमारीलाई बिहान ७:०५ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनापछि दुर्घटनाग्रस्त स्कुटरलाई ट्राफिक प्रहरी प्रभाग कलंकीले नियन्त्रणमा लिएको छ भने मिनी ट्रक र त्यसका चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर घटनाको कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *