बल्खु खोला करिडोरमा १,१५० बिरुवा रोपिए, रोटरीको ‘१ लाख वृक्षारोपण अभियान’
काठमाडौँ । उपत्यकाको सहरी वातावरणलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ बल्खु खोला करिडोर क्षेत्रमा बृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्मको करिडोर क्षेत्रमा कपुर, धुपी, आँप, कल्की फूल, तेजपात र कडीपत्ता लगायत विभिन्न प्रजातिका कुल १,१५० वटा बिरुवा रोपिएको हो।
रोटरी क्लब अफ कीर्तिपुरको संयोजन एवं कीर्तिपुर नगरपालिकाको समन्वयमा आयोजित उक्त कार्यक्रममा रोटरी क्लब अफ नेपाल मण्डल, बालाजु, ज्ञानेश्वर, काठमाडौँ सर्कल, ठिमी र बागलुङको संयुक्त सहभागिता रहेको थियो। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले वर्ष २०२६–२७ का लागि सञ्चालन गरेको ‘१,००,००० वृक्षारोपण अभियान’ र जुलाई २६ देखि अगस्ट १ सम्म घोषित ‘वृक्षारोपण सप्ताह’ अन्तर्गत यो ’मेगा ट्री प्लान्टेसन प्रोग्राम २०८३’ (प्रोजेक्ट धन्यवाद) सम्पन्न गरिएको हो। वृक्षारोपणसँगै सम्पूर्ण करिडोर क्षेत्रमा सरसफाइ अभियानसमेत चलाइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले वातावरण संरक्षणमा रोटरीको प्रतिबद्धता दोहोर्याए। विशेष अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल तथा वडा नं. २ का अध्यक्ष रुपेश महर्जनले यस्ता हरित अभियानमा स्थानीय सरकारको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
रोटरी क्लब अफ कीर्तिपुरका अध्यक्ष रोटेरियन रमेशमान डंगोलले हरित सहर निर्माणका लागि वृक्षारोपणको महत्त्वमाथि प्रकाश पारेका थिए। कार्यक्रम संयोजक एवं कीर्तिपुर रोटरीका पूर्व अध्यक्ष रोटेरियन पुष्पराज अधिकारीले बल्खु खोला करिडोरका बाँकी खाली स्थानहरूमा पनि साप्ताहिक रूपमा वृक्षारोपणलाई निरन्तरता दिइने जानकारी दिए।
यस्तै, रोट्र्याक्ट क्लब अफ नेपाल मण्डलका सदस्यहरूसँगै वृक्षारोपणमा सहभागी भएका रोटरी क्लब अफ नेपाल मण्डलका अध्यक्ष उत्तम भट्टराईले रुखबिरुवाबिना जीवन अधुरो हुने भन्दै वातावरण संरक्षणका लागि यो अभियान कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment