रास्वपाको केन्द्रीय समिति बैठक बुधबार, महाधिवेशन समीक्षा देखि संगठन व्यवस्थापनसम्मका एजेन्डामा छलफल

डिसी नेपाल
१२ साउन २०८३ ८:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ। पार्टीको हालै सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको यो बैठकलाई संगठनात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ।

पार्टीका अनुसार बैठक बुधबार बिहान ११ बजे काठमाडौंको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टी घर’मा आयोजना हुनेछ।

बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा गर्ने, महाधिवेशनबाट प्राप्त सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्ने विषयमा छलफल गरिनेछ। साथै पार्टी सञ्चालनलाई थप व्यवस्थित बनाउन आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन गर्ने एजेन्डा पनि रहेको छ।

यस्तै संगठनात्मक व्यवस्थापनलाई प्रभावकारी बनाउने, विभिन्न तहमा आवश्यक मनोनयन गर्ने तथा पार्टीको संरचनालाई थप सुदृढ बनाउने विषयमा पनि निर्णय हुन सक्ने जनाइएको छ।

यसका अतिरिक्त आगामी दिनमा सञ्चालन गरिने संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक अभियानका कार्यक्रमहरूको रूपरेखा तय गर्ने विषय पनि बैठकको प्रमुख कार्यसूचीमा समावेश गरिएको छ।

रास्वपाले महाधिवेशन सम्पन्न गरेपछि नयाँ नेतृत्व र संगठनलाई सक्रिय बनाउने तयारीस्वरूप बस्न लागेको यस बैठकबाट संगठन विस्तार, कार्यविधि निर्माण तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरू आउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *