मानव बेचबिखनको बदलिँदो स्वरूप नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक: आईजीपी कार्की

डिसी नेपाल
१२ साउन २०८३ १३:२१

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वित र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत दायरामा मात्र सीमित नरहेको स्पष्ट पारे। विगतमा मुख्यतः यौन शोषण, जबरजस्ती श्रम, बाल शोषण र जबरजस्ती विवाहजस्ता गतिविधिमा केन्द्रित यो अपराध पछिल्ला वर्षहरूमा प्रविधिमा आधारित भई साइबर अपराधतर्फ तीव्र रूपमा विस्तार भइरहेको उनको भनाइ थियो।

विशेषगरी वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र सुविधाको प्रलोभन देखाएर सर्वसाधारणलाई विदेश पुर्‍याउने र त्यहाँ बन्धक बनाएर डिजिटल प्लेटफर्ममार्फत अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न हुन बाध्य पार्ने प्रवृत्ति बढेको उनले बताए।

“पछिल्ला वर्षहरूमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश लैजाने र बन्धक बनाई जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याम गराउने घटनाहरू तीव्र रूपमा बढेका छन्,” उनले भने।

आईजीपी कार्कीका अनुसार मानव बेचबिखन अहिले अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको एक ठूलो सङ्गठित अपराधका रूपमा विकसित भइसकेको छ। त्यसैले यसलाई केवल परम्परागत दृष्टिकोणले मात्र नहेरी साइबर अपराध, आर्थिक अपराध र अन्तर्राष्ट्रिय संगठित अपराधसँगको अन्तरसम्बन्धलाई समेत ध्यानमा राखेर सोहीअनुसार अध्ययन, अनुसन्धान र नियन्त्रणका रणनीतिहरू तयार गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

बदलिँदो यो चुनौतीसँग जुध्न कानूनी ढाँचा, प्राविधिक क्षमता र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले मानव बेचबिखनविरुद्धको अभियानमा सबै सरोकारवाला निकायहरूलाई सक्रिय रूपमा सहभागी हुन आह्वानसमेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *